काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमविरुद्ध पत्रकार सम्मेलनमा पीडितका रूपमा प्रस्तुत गरिएका भारतीय नागरिक गौरीशंकर राम चमारमाथि चार आपराधिक मुद्दा दर्ता गरिएको खुलासा भएको छ। उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले अफताब आलमलाई निर्दोष ठहर गरेसँगै, गौरीशंकरको पृष्ठभूमिबारे नयाँ विवरण सार्वजनिक भएको हो।
एमालेका नेता शैलेन्द्र साहले राजनीतिक प्रतिशोध स्वरूप भारतको सीतामढी जिल्ला अन्तर्गत बैरगनिया ग्राम महसाबाट गौरीशंकरलाई काठमाडौं ल्याई पत्रकार सम्मेलन गराएको आरोप लागेको छ।
चार आपराधिक मुद्दा
गौरीशंकर राम चमारविरुद्ध २०६६ साल चैत ५ गते राम प्रवेश साहले अपहरण तथा शरीर बन्धकसम्बन्धी मुद्दा दर्ता गराएका थिए। उक्त मुद्दामा २०६८ वैशाख ६ गते जिल्ला अदालत रौतहटले फैसला गरेको थियो।
त्यसपछि दोस्रो मुद्दा खरखजाना सम्बन्धी हो। तत्कालीन प्रहरी निरीक्षक रामेश्वर कार्कीको प्रतिवेदनका आधारमा २०६६ चैत ५ गते जिल्ला प्रशासन कार्यालय, रौतहट गौरमा दर्ता भएको सो मुद्दामा तत्कालीन प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेले २०७० असोज १० गते फैसला गरेका थिए। यसमा गौरीशंकरलाई एक वर्ष कैद सजाय सुनाइएको थियो।
तेस्रो मुद्दा लागू औषध सम्बन्धी हो। तत्कालीन प्रहरी सहायक निरीक्षक महेन्द्रप्रसाद यादवले तयार पारेको प्रतिवेदनका आधारमा २०६७ सालमा दर्ता गरिएको मुद्दामा २०६८ पुस २६ गते जिल्ला अदालतले दुई महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकेको थियो।
चौथो मुद्दा हातहतियार खरखजाना सम्बन्धी हो। ९२/१२६ नम्बरको सो मुद्दाको प्रतिवेदन २०६७ साउन २१ गते तयार पारिएको थियो। तत्कालीन सीडीओ शिवहरी उपाध्यायले २०६९ असार ७ गते गौरीशंकरलाई चार वर्ष कैदको फैसला गरेका थिए।
'राजनीतिक प्रतिशोधस्वरूप खडा गरिएका पात्र'
पूर्वमन्त्री अफताब आलमका छोरा, राजपुर नगरपालिकाका मेयर डा. रजिक आलमले गौरीशंकरलाई "आपराधिक पृष्ठभूमिको व्यक्ति" भन्दै अफताबविरुद्ध षड्यन्त्रपूर्वक खडा गरिएको कृत्रिम पात्र भनेका छन्।
उनले भने, “उनी आपराधिक गतिविधिमा संलग्न व्यक्ति हुन्। शैलेन्द्र शाहले उनलाई प्रयोग गरेर राजनीतिक प्रतिशोध लिन खोजिएको हो।”
स्टोभ विस्फोट र बयानबाजी
गौरीशंकरले आफैंले विगतमा जबर्जस्ती सांसद किरण साह र केही प्रहरी अधिकारीहरूको मिलोमतोमा अफताबविरुद्ध बयान दिन बाध्य बनाइएको स्वीकार गरेका छन्। यससम्बन्धी भिडियो ‘नेपालपूर्व ’सँग सुरक्षित रहेको छ।
त्यसैगरी, स्टोभ पड्किएर घाइते भएका गौरीशंकरलाई बम विस्फोटबाट घाइते भएको भनी प्रचार गरिएको थियो। भारतको सीतामढीबाट पटना रेफर गरिएको रेफरपत्र यसअघि नै सार्वजनिक भइसकेको छ।


















