काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कोशी प्रदेशकी पूर्वकार्यवाहक सभापति गोमा तामाङसँग ७२ घण्टाभित्र लिखित स्पष्टीकरण मागेको छ।

रास्वपाको कोशी प्रदेश संगठन विभागले पार्टीको विधान, नीति, आचारसंहिता र संगठनात्मक मर्यादा उल्लंघन गरेको आरोपमा तामाङलाई स्पष्टीकरण सोधेको हो। विभाग प्रमुख तथा सहमहामन्त्री **इन्जिनियर सुरेन्द्र कार्की**का अनुसार सामाजिक सञ्जालमा सार्वजनिक गरिएका अभिव्यक्ति तथा प्रदेश र स्थानीय संरचनाबाट प्राप्त सूचना, प्रतिवेदन र प्रमाणका आधारमा स्पष्टीकरण मागिएको हो।

पत्रमा तामाङमाथि पार्टीको आन्तरिक संगठनमा हस्तक्षेप, गुटबन्दीसम्बन्धी गतिविधि तथा संगठनात्मक विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको आरोप लगाइएको छ। कोशी प्रदेश निर्वाचनका क्रममा उनले सामाजिक सञ्जालमा पोस्ट, कमेन्ट र रियाक्सनमार्फत गुटबन्दीसम्बन्धी विषय सार्वजनिक गरेको तथा नवनिर्वाचित प्रदेश सभापतिहरूको तस्वीर राखेर आपत्तिजनक अभिव्यक्ति दिएको आरोप पनि उल्लेख गरिएको छ।

त्यस्तै, “अबबाट राजनीतिक बीट मार्ने” भन्ने उनको सामाजिक सञ्जाल अभिव्यक्तिबारे राजनीतिक तथा संगठनात्मक भूमिका स्पष्ट गर्न पनि विभागले भनेको छ। प्रदेश कार्यसमितिको सचिवालय र पार्टीका औपचारिक संरचनाका गतिविधिलाई “गुटबन्दी” भनेको विषयमा समेत तथ्यगत आधार, सन्दर्भ र आशय खुलाउन भनिएको छ।

रास्वपाले विधान–२०८२ को खण्ड ५४ अनुसार प्रारम्भिक छानबिन र सुनुवाइको प्रक्रियाअन्तर्गत तामाङलाई आफ्नो धारणा राख्ने अवसर दिएको जनाएको छ। पत्र प्राप्त भएको मितिले ७२ घण्टाभित्र स्वयं उपस्थित भएर वा आधिकारिक इमेल अथवा ह्वाट्सएपमार्फत स्पष्टीकरण बुझाउन निर्देशन दिइएको छ।

विभागले तोकिएको समयभित्र स्पष्टीकरण नआएमा वा प्राप्त स्पष्टीकरण तथ्य र प्रमाणमा आधारित नदेखिएमा विधानअनुसार अनुशासनिक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

गोमा तामाङ गत प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–१ (धरान) बाट उम्मेदवार बनेकी थिइन्। उक्त निर्वाचनमा उनी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङसँग पराजित भएकी थिइन्। त्यसअघि पनि सोही क्षेत्रबाट रास्वपाको उम्मेदवारका रूपमा चुनाव लडेकी थिइन्।