आमा खरानीबाट उठेर आएँ भन्दै नेपाल प्रहरीको मनोबल उच्च बनाउने दानबहादुर कार्कीको आइजिपी पद खोसिएको छ । कार्कीले जेनजी आन्दोलनका क्रममा मनोबल गिरेका सुरक्षाकर्मीलाई आफ्नो जिम्मेवारीमा फर्काउने प्रयास गरेका थिए ।

तर, समयावधि नपुग्दै आइजिपी कार्कीलाई बालेन सरकारले बर्खास्त गर्‍यो । सरकारले आइजिपी हटाउने छनक केही समयदेखि देखाउँदै आएको थियो । उनलाई हटाउन अनेक प्रपञ्च गर्‍यो । नयाँ नयाँ बखेडा सिर्जना गर्‍यो । 

प्रधानमन्त्री सचिवालयले पत्रकारलाई पक्राउ गर्न आदेश दियो । तर समातिसकेपछि हामीलाई जानकारी छैन भनेर बालेन सरकार पन्छियो । त्यसबेला पक्राउ परेका पत्रकारहरूले पनि आइजिपी हटाउन सरकारले नयाँ रणनीति बनाएको आँकलन गरेका थिए । आखिर त्यस्तै भयो ।

विशेषगरी अहिले बिचौलिया कहलिएका तर कुनै बेला बालेनकै टिम मेम्बर रहेका इनम सापकोटा पक्राउ परेपछि सरकार आत्तिएको छ । अनुसन्धानमा इनमबाट पोल खुल्ने डरका कारण पनि कार्कीलाई प्रहरी प्रमुखको कुर्सीबाट हटाएको स्पष्ट बुझ्न सकिन्छ । किनकि, इनमको इनमको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको घरमा भेटिएको थियो ।

कार्कीले दबाबका बीच पनि अनुसन्धान थाल्ने अडान लिएकै कारण आइजिपी पदमा मनोज केसीलाई नियुक्ति गरिएको हुन सक्छ । कार्कीलाई हटाएपछि सर्वत्र आलोचना हुन सक्ने सम्भावनालाई लिएर सरकारले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएको छ ।