विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसका स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) सभापति सन्तोष लिम्बूमाथि शुक्रबार साँझ चिर्पट प्रहार भएको छ । 

सुन्दरहरैँचा–१२ घर भएका लिम्बूमाथि क्याम्पसको गेटनजिकै चिर्पट प्रहार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । चिर्पट प्रहारबाट घाइते भएका लिम्बूलाई उपचारका लागि विराटचोकको सुकुना सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको आर्या न्युरो अस्पताल ल्याइएको छ । 

अवस्था मध्यम रहेका उनको टाउकोमा १० टाँका लगाइएको प्रहरीले जनाएको छ । डीएसपी बस्नेतका अनुसार लिम्बूमाथि सोही क्याम्पसका अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) अध्यक्ष मोरङको बेलबारी नगरपालिका–१० का योगेश दाहालले चिर्पट प्रहार गरेको खुलेको छ । 

घटनामा प्रयोग गरिएको चिर्पट हालसम्म प्रहरीले फेला पार्न सकेको छैन ।  घटनापछि अनेरास्ववियुका अध्यक्ष दाहाल फरार छन् । इलाका प्रहरी कार्यालय विराटचोकका सइ (प्रहरी नायव निरीक्षक) नीरबहादुर खड्का नेतृत्वको टोलीले उनको खोजी तीव्र पारेको छ । 

दाहालको खोजीका लागि इलाका प्रहरी कार्यालय बेलबारीबाट पनि टोली परिचालन गरिएको छ । फरार रहेकाको खोजी तीव्र पारेर विभिन्न कोणबाट घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी बस्नेतले बताए । 

उनका अनुसार क्याम्पस परिसरभित्रको मैदानमा विद्यार्थीहरुले क्रिकेटको अभ्यास गरिरहेका बेला शुक्रबार साँझ ६ः४५ बजेतिर दुई पक्षबीच विवाद भएको थियो । आपसी विवाद मिलाउन भनी स्ववियु सभापति लिम्बू र अनेरास्ववियुका अध्यक्ष दाहाल गएका थिए । दुवै जनाले सम्झाइबुझाइ गर्दा पनि विवाद मिल्न सकेन । 

त्यसपछि लिम्बूले क्रिकेटको स्टमले हान्दै क्याम्पस परिसरभित्र रहेकालाई बाहिर निकाल्न थाले । त्यही क्रममा क्रिकेट स्टमले अनेरास्ववियुका अध्यक्ष दाहालको टाउको र खुट्टामा लागेको थियो । घटनापछि आक्रोसित भएका दाहालले क्याम्पसको गेट बाहिर निस्कनसाथ लिम्बूलाई चिर्पटले प्रहार गरेको डीएसपी बस्नेतको भनाइ छ । चिर्पट प्रहारबाट टाउकोमा चोट लागेर लिम्बू घाइते भएका हुन् ।