काठमाडौं— अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीले अध्ययनका क्रममा आफ्नो श्रीमान–श्रीमती, पार्टनर वा सन्तानलाई सँगै लैजाने व्यवस्थामा ठूलो कडाइ गर्ने तयारी गरेको छ। प्रस्तावित व्यवस्थाअनुसार अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीले अब अध्ययन अवधिमा परिवारलाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया लैजान पाउने छैनन्।
गृह मामिला मन्त्री टोनी बर्कले बिहीबार सार्वजनिक गरेको आप्रवासन सुधार योजनामा सरकारले शुद्ध वैदेशिक आप्रवासन घटाउने लक्ष्यअनुसार विद्यार्थी र उनीहरूका परिवारसँग सम्बन्धित भिसा व्यवस्थामा परिवर्तन गर्न लागेको बताएका छन्। सरकारले सन् २०२८ सम्म शुद्ध वैदेशिक आप्रवासनलाई करिब २ लाख २५ हजार मा झार्ने लक्ष्य लिएको छ।
हाल अन्तर्राष्ट्रिय विद्यार्थीले निश्चित सर्त पूरा गरेपछि आफ्नो श्रीमान–श्रीमती, पार्टनर तथा १८ वर्षभन्दा कम उमेरका आश्रित सन्तानलाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया लैजान पाउँछन्। तर नयाँ व्यवस्थाअनुसार यो सुविधा अधिकांश विद्यार्थीका लागि हटाइनेछ।
यद्यपि सबै विद्यार्थीलाई एउटै नियम लागू हुने छैन। सरकारका अनुसार पीएचडी जस्ता अनुसन्धानमूलक उच्च तहका विद्यार्थी र केही विशेष श्रेणीका विद्यार्थीलाई परिवार सँगै लैजान दिने अपवाद व्यवस्था रहनेछ। साथै प्रशान्त र आसियान क्षेत्रका केही विशेष भिसा व्यवस्थामा पनि छुट रहने जनाइएको छ।
सरकारले अहिले नै परिवारसहित अस्ट्रेलियामा रहेका विद्यार्थीलाई भने असर नपर्ने स्पष्ट पारेको छ। हाल डिपेन्डेन्ट भिसामा अस्ट्रेलियामा रहेका परिवारलाई नयाँ नियमका कारण छुट्याइने छैन।
यो परिवर्तनले नेपालसहित विवाहित अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रत्यक्ष असर पार्न सक्ने देखिएको छ। अध्ययनका लागि श्रीमान–श्रीमती वा सन्तानलाई सँगै लैजाने योजना बनाएका धेरै विद्यार्थी नयाँ नियमबाट प्रभावित हुन सक्छन्। तर कुन तहका विद्यार्थीमा नियम लागू हुने, लागू हुने मिति र विस्तृत मापदण्ड भने सरकारले अझै सार्वजनिक गरिसकेको छैन ।