काठमाडौं — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ। शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले पहिलोपटक उपाधि उचालेको हो।

लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले कुनै विकेट नगुमाई १३.३ ओभरमै पूरा गर्‍यो।

सुदूरपश्चिमको जितमा स्कटल्यान्डका ओपनर जर्ज मन्सेले आक्रामक ब्याटिङ गर्दै अविजित १२५ रन बनाए। उनले ५४ बलमा १२५ रन बनाउने क्रममा ९ चौका र १० छक्का प्रहार गरे।

अर्का ओपनर विनोद भण्डारीले पनि अविजित २७ रनको योगदान दिए। दुवैले पहिलो विकेटका लागि अविजित साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। लुम्बिनीका दिलीप नाथले अविजित ३९ रन बनाए। सुदूरपश्चिमका स्कट कुगेलेइनले दुई विकेट लिए।

उपाधि जितेसँगै सुदूरपश्चिमले अघिल्लो संस्करणको फाइनलमा लुम्बिनीसँग बेहोरेको हारको बदला पनि लिएको छ। खेलपछि त्रिवि मैदानमा समर्थकले आतिशबाजी गर्दै सुदूरपश्चिमको ऐतिहासिक जितको खुसी मनाएका थिए।