•  देवेन्द्र कार्की 

धरान,१७ पुस ।  निजामति कर्मचारीलाई प्रायः जसो ‘कामचोर’ को संज्ञा दिने गरिन्छ । हुन पनि जनताको सेवा भन्दा पनि जागिर पकाउने मात्र प्रायःको ध्याउन्न हुन्छ । तर कामचोरहरुको भीडमा इमान्दार र बफादार राष्ट्रसेवक पनि हुन्छन् । त्यसका उदाहरण मोरङको केरावारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्दशन दाहाललाई हेरे पुग्छ । 

मोरङको सुन्दरहरैचा–८ सलकपुर घर भएका दाहाल सम्भवत पालिकाहरुको प्रमुख प्रशासकीय अधिकृतहरु मध्यमा सबै भन्दा कान्छा उमेरका पर्न सक्नु हुन्छ । त्रिभुवन विश्वविद्यालयबाट पब्लिक एडमिनिस्ट्रेसन(जनप्रशासन) विषयमा स्नाकोत्तर गर्नु भएका दाहाल २९ बर्ष पुग्नु भएको छ । सुकुना बहुमुखी क्याम्पस विराटचोकबाट व्यवस्थापन विषयमा स्नातक गरे पछि २०७२ सालमा प्रशासनको लेखा समुहमा नायक सुब्बामा लोकसेवा आयोग पास गरे पछि उहाँले धादिङबाट जागिर सुरु गर्नु भएको थियो । 

दुई बर्ष पछि फेरी लोक सेवा आयोगको खुल्ला प्रतियोगितामा शाखा अधिकृतको रुपमा नाम निकाले पछि उहाँले २०७४ देखि २०७८ सालसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा काम गर्नु भयो । तत्कालिन मन्त्री लामबाबु पण्डितको सचिवालयमा शाखा अधिकृतको रुपमा काम गर्दा उहाँले कामको धेरै अनुभव संगलानु भएको थियो । त्यस बेला मन्त्रीको सचिवालयमा काम गर्दा २४ सैघण्टा कामको चाप हुने गरेको थियो । त्यही व्यस्थ दैनिकमा उहाँ अभ्यस्त भए पछि यति बेलाको दैनिकी पछि त्यही चापमा अगाडि बढाउदा उहाँ फरक अधिकृतको रुपमा दरिनुभएको छ ।  

मन्त्रालयमा खारिएर २०७८ असोज  १७ गतेदेखि उहाँ केरावारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा हाजिर हुनु भएको थियो ।  घरबाट गाउँपालिका कार्यालय करिव १२ किमीको दुरीमा पर्छ । उहाँ विहान ९ बजे कार्यालयमा हाजिर हुनु हुन्छ । साँझ पछि ७ बजेसम्मै काम गरिहेको भेटिनु हुन्छ । 

अन्य पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई प्रायः कार्यालय समयमा भेट्न हम्मे हुन्छ । तर उहाँ भने नियमित ९ बजेदेखि नै कार्यालयमा भेटिनु हुन्छ । प्रमुख प्रशासकीय अधिकृतको कामबाट आफुहरु सन्तुष्ट रहेको स्थानीय बताउनु हुन्छ । 

सरकारले सबै काम डिजिटल प्रणालीमा लैजाने अभ्यास गरिरहेको छ । पुरान सोच र प्रवृतिका प्रमुख भएका स्थानमा पालिका डिजिटलाइज हुन सकेको छैन् । तर दाहाल केरावारी गाउँपालिकामा आए पछि सबै काम डिजिटल प्रणालीमा हुदैं आएको छ ।   

कार्यालयको आर्थिक गतिविधी डिजिटल प्रणालीमा हुने गरेको छ । इन्ट्री फण्ड टान्सफर(इएफटी) कार्यक्रममा लेखा अधिकृत र कार्यालय प्रमुख जिम्मेवार हुन्छन् । त्यसका लागि अनलाइन काम हुन्छ ।  कार्यालय प्रमुखहरु कम्प्युटर नचलाउने र चलाउने भए पनि समय नदिदा कतिपय कार्यालयमा इएफटी कायृक्रम प्रभावकारी हुन सेकेको छैन् । तर दाहालले समय मिलाएर लेखा प्रणाली डिजिटल सिष्टम मै काम गदैं आउनु भएको छ । 

उहाँ आफु विहानै कार्यालय आएर अरु कर्मचारीहरुलाई पनि नियमित समयमा कार्यालय आउन प्रोत्साहन गर्नु हुन्छ । कर्मचारीहरको पोषाकमा एक रुपता छ । गाउँपालिका माताहतमा रहेका सबै कार्यालयहरुमा विद्युतीय हाजिरी राखिएको छ । 

१० वटा वडा कार्यालयहरु, १० वटा स्वास्थ्य चौकीहरु र विद्यालयहरु गरि ३८ वटा कार्यालयहरुको उहाँ गाउँपालिका कार्यालयमै बसेर अनुगमन गर्ने प्रणाली बनाइएको उहाँ बताउनु हुन्छ । को कतिखेर कार्यालय पुग्यो हाजिर भएनभएको उहाँको मोवाइलमा सबै रिर्पोट आउने व्यवस्था मिलाइएको छ । 

‘मैले त्यस्तो नयाँ काम चाही केही गरेको छैन् । तर कार्यालय व्यवस्थित र सिष्टममा हुनु पर्छ भन्ने मान्यता राखेर कार्यालयहरुलाई व्यवस्थित गर्ने प्रयास भने गरेको छु ।’–अधिकृत दाहालले भन्नु भयो । शाखा अधिकृतहरुलाई जिम्मेवार बनाउन कामको बाडफाड समानुपातिक रुपमा वितरण गरेको उहाँ बताउनु हुन्छ । शाखाहरुमा कार्यगत विवरण र जिम्मेवारपूर्ण बनाइएको छ । कामको अधिकार सबैलाई वितरण गरेको उहाँ बताउनु हुन्छ । १० लाखसम्मका योजनाहरु योजना शाखा अधिकृतले स्वीकृत गर्न सक्ने अधिकार प्रत्यायोजन गरेको उहाँले बताउनु भयो । ‘कामको बाफफाड गरेका छौं । सबै शाखाहरुलाई जिम्मेवार बनाइएको छ । कार्यालय प्रमुख नहुदा पनि सेवाग्राहीहरुको कुनै काम रोकिदैंन् ।’–दाहालले भन्नु भयो ।

राजस्व संकलन र पञ्जिकरणको काम पनि अनलाइन माध्यमबाटै भइरहेको छ । पालिका भित्र रहेका विद्यालयहरु, सहकारी, अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुको अनुगमन र मूल्याङ्कन प्रणाली पनि चुस्त दुरुस्त पारिएको पालिका अध्यक्ष सुमन मिरिङचिङले बताउनु भयो । प्रशासकीय अधिकृतको कार्यकुसलताले पालिका चुस्तदुरुस्त रुपमा चलेको उहाँ बताउनु हुन्छ । 

अधिकृत दाहालका अनुसार झण्डै ३५ हजार जनसंखया र ८ हजार भन्दा माथि घरधुरी संस्था भएको केरावारी गाउँपालिकाको गत आर्थिक बर्षको बेरुजू १ प्रतिशतमा झारिएको छ । सामाजिक सुरक्षा सहितको ८४ करोड बजेटमा हालसम्म ३५ प्रतिशत विकास योजनाको बजेट खर्च भएको छ । ठुलो आयोजनाहरुको ठेक्का प्रक्रिया भई काम भइरहेको र भुक्तानी हुन बाँकी रहेकाले बजेट थोरै खर्च भएको देखिएको अधिकृत दाहाल बताउनु हुन्छ । 

स्थानीय स्वयत्त शासन ऐनले प्रत्यायोजन गरेको उपभोक्ता समिति मार्फत हुने कामको सम्झौता गर्न शाखा अधिकृतहरु वडाहरुमै पुगेर सम्झौता गर्ने गरिएको छ । 

downloadमहिनामा एक पटक कर्मचारीहरुको बैठक बस्ने गरेको छ । महिनामा दुई पटक कार्यापालिका बैठक बस्ने गरेको छ । यस्तै विषयगत समितिको महिनामा एक पटक बैठक बस्ने परिपाटी बसालिएको दाहाल बताउनु हुन्छ ।  यस्तै सर्वाजनिक जग्गा पहिचान, सिमाङकन र संरक्षणका लागि गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङको संयोजकत्वमा सर्वदलिय समिति बनाइएको छ । त्यसको पनि महिनामा एक पटक बैठक बसेर प्रगति विवरण सार्वजनिक गर्ने गरिएको छ । 

प्रमुख प्रशासकीय अधिकृतले सबै काम सिष्टममा बसाए पछि पालिका अध्यक्ष र उपाध्यक्षहरुलाई पनि काम गर्न सहज भएको छ । 

पालिका मेरो हो म कर्मचारी मात्र होइन । यो पालिका बनाउने मेरो पनि जिम्मेबारी छ भन्ने हिसावले प्रमुख प्रशासकीय अधिकृत दाहालले काम गदैं आउनु भएको गाउँपालिका उपाध्यक्ष मनमाया मगर बताउनु हुन्छ । ‘कामको चाप भएका बेला विहान ७ बजे नै आउनु हुन्छ । बेला ८ बजेसम्म काम गरेर कहिले काही त घर जान पनि भ्याउनु हुदैंन यतैबस्नु हुन्छ । शाखा अधिकृतहरुलाई आफु सँगे काम गरेर जिम्मेवार बनाउनु भएको छ ।’–उपाध्यक्ष मगरले भन्नु भयो । फिल्डमा जाने कर्मचारीहरुको अनुगमन तथा हाजिरी मोवाइलबाटै निगरानी गर्नु हुन्छ । सबै काम सिष्टममा ल्याएकाले जनताको सेवा सहज भएको उपाध्यक्ष मगर बताउनु हुन्छ ।