दुबई—नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूएईले आयोजना गरेको ‘अन्तरजातीय नृत्य प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रम–२०२६’ भव्य रूपमा सम्पन्न भएको छ। राहत तथा उद्धार कोष अभिवृद्धि गर्ने उद्देश्यले नोभेम्बर १ मा आयोजित प्रतियोगितामा तामाङ समाज यूएईले प्रथम स्थान हासिल गरेको छ।

दुबईको बर दुबईस्थित क्लब एसके सेभेनको प्रेक्षालयमा सम्पन्न प्रतियोगितामा महासंघमा आबद्ध आठ जातीय संस्थाका कलाकारहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा नेपाल मगर संघ शाखा यूएईले दोस्रो र तमु समाज यूएईले तेस्रो स्थान हासिल गरे। विजेता समूहहरूलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो।

प्रतियोगिताको निर्णायक मण्डलमा सनिल घिसिङ, इन्द्र तमु र होम राजालि मगर रहेका थिए।

Untitled design (15)नेपाल आदिवासी जनजाति महासंघ यूएईका प्रमुख संरक्षक एवं पूर्वअध्यक्ष विक्रम लिम्बुको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनले नेपाल तथा यूएईमा विभिन्न कठिनाइमा परेका आदिवासी र गैरआदिवासी नेपाली समुदायका सदस्यहरूलाई महासंघले सहयोग गर्दै आएको बताए।

उनले राहत तथा उद्धार कोषलाई थप सुदृढ बनाउन सांस्कृतिक कार्यक्रममार्फत कोष अभिवृद्धि गर्ने प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमले विभिन्न जातजातिका मौलिक कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए। साथै, यूएईमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, एकता र भाइचाराको भावना अभिवृद्धि गर्न पनि यस्ता कार्यक्रम प्रभावकारी हुने उनको भनाइ थियो।

महासंघका अध्यक्ष भागरथी कुमार भगतको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूएईका अध्यक्ष सूर्यबहादुर खवास, नेपाली समाज यूएईका महासचिव जीवन पंगेनी तथा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूएईका केशव खड्कालगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

कार्यक्रममा वक्ताहरूले सांस्कृतिक कार्यक्रमले विभिन्न जातजातिको मौलिक पहिचानलाई जीवन्त राख्नुका साथै नयाँ पुस्तालाई आफ्नो संस्कृति, परम्परा र मौलिकताको महत्त्व बुझाउन सहयोग पुग्ने बताए। वैदेशिक रोजगारी तथा विभिन्न पेसा व्यवसायका सिलसिलामा यूएईमा रहेका नेपालीलाई एउटै सांस्कृतिक मञ्चमा जोड्दै विविधताबीच एकताको सन्देश प्रवाह गर्न यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने उनीहरूको भनाइ थियो।

Untitled design (17)अन्य अतिथिहरूले नेपाली समुदायका मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि सबै जातीय संस्था र समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए।

राहत तथा उद्धार कोष अभिवृद्धिका लागि आयोजित यस कार्यक्रमले विभिन्न जातीय समुदायका कलाकारलाई आफ्नो कला, संस्कृति र प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ। यस्ता कार्यक्रमले यूएईमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने विश्वाससमेत व्यक्त गरिएको थियो।