मोरङ,६ पुस  । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रमुख अतिथि रहनुभएको कार्यक्रममा जनताको उपस्थिति अत्यन्त न्यून भएको छ । मोरङको मिक्लाजुङमा आज आयोजना गरिएको सभामा सहभागीको संख्या अत्यन्तै न्यून देखिएको हो ।

यतिबेला ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान चलिरहेको छ । यसै मेसोमा शुक्रबार माओवादी केन्द्रले मिक्लाजुङको खोलिटारमा ‘वृहत आमसभा’ आयोजना गर्यो । त्यहाँ कार्यक्रम आयोजना गर्नुको कारणचाहिँ माओवादीले जिल्लामा एउटै पालिका किन नहोस, उपाध्यक्ष जितेको ठाउँ । गठबन्धन गरेरै भएपनि उपाध्यक्ष जितेको । अनि सम्बन्धित स्थानका वडाध्यक्ष पनि माओवादीबाटै निर्वाचित ।

आफ्ना ‘दुर्लभ जनप्रतिनिधि’ भएको स्थानलाई पार्टीले प्राथमिकता दिनु स्वभाविक थियो । सामरिक हिसाबले पनि कार्यक्रममा जनसहभागिता उल्लेख्य हुने त्यो पार्टीको अपेक्षा हुनसक्छ । तर, भइदियो टिठ लाग्दो । प्रधानमन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष प्रचण्डले यो हरिबिजोग सहनुभन्दा हतारहतार आफ्नो मन्तव्य सकेर हिडनुभयो । कतिपयले व्यंग्यपनि कसे ‘माओवादीसभामा जनताभन्दा धेरै त पत्रकार पो भइएछ ।’ लगभग अवस्था त्यस्तै रहयो ।

माओवादी सभामा किन यति न्यून उपस्थिति रह्यो त ? यो प्रश्नको जवाफ खोज्न लागेका पत्रकारले बिश्वास नभएको कारण कोही नआएको निश्कर्ष किाकालेका छन ।

कार्यक्रममा सहभागी पत्रकारले जनताटाइम्स डटकमका प्रतिनिधिसँग भने, ‘हिजो हजारौं कार्यकर्ताका माझ लमकलमक हात्तीजस्तो लम्कने प्रचण्ड, आज भिजेका मुसोजस्तो किन भए ? आफ्ना एजेण्डामा टिक्न नसक्दा । चौतारोको मादलजस्तो जसले बजाएपनि हुने । कोशीपनि ठिकै, किरात – लिम्बुवान पनि ठिकै । क्रिश्चियनभन्दा अर्को धर्मै छैन भन्दिएपनि भो, गेरुवा वस्त्र लगाएर मन्दिरमा आरती अर्चना गरेपनि भो ! आफ्नो अनुकुलतामा परिस्थितिको व्याख्या गर्दा कार्यकर्ता विस्तारै भ्रममुक्त हुन थालेको प्रमाण हो – खोलिटारको न्युन सहभागिता !’ यो समाचार जनता टाइम्समा  छ ।