इटहरी । कर्णाली प्रदेशको सुर्खेतमा आगामी मंसिर १६ गतेदेखि आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै कोशी प्रदेश खेलकुद विकास बोर्डले प्रशिक्षक र निर्णायक (रेफ्री) हरूका लागि विशेष क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
बोर्डले यही बिहीबार र शुक्रबार सुनसरीको इटहरीमा दुईदिने रिफ्रेसर कोर्स सञ्चालन गर्न लागेको हो । प्रतियोगितामा कोशी प्रदेशको प्रदर्शन सुधार गर्दै बढीभन्दा बढी पदक हासिल गर्ने लक्ष्यसहित प्रशिक्षक तथा रेफ्रीहरूको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्न कार्यक्रम आयोजना गर्न लागिएको बोर्डले जनाएको छ ।
कोर्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएका प्रशिक्षकहरूले प्रशिक्षण दिनेछन् । बोर्डका सदस्य सचिव विप्लव घोषका अनुसार पार्थ सारथी सेन गुप्ता, सुशील नरसिंह राना र नारायणबहादुर प्रधानले कोशी प्रदेशका स्थायी तथा स्वयंसेवक प्रशिक्षक र रेफ्रीहरूलाई प्रशिक्षण दिनेछन् ।
घोषका अनुसार दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कोशी प्रदेशबाट सहभागी हुने खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि तयार पार्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । खेलाडीको तयारीसँगै उनीहरूलाई प्रशिक्षण दिने प्रशिक्षक र प्रतियोगिता सञ्चालनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने निर्णायकहरूको क्षमता पनि समयअनुसार अद्यावधिक हुन आवश्यक रहेको उनले बताए ।
यसपटक कोशी प्रदेशले अघिल्ला प्रतियोगिताको तुलनामा पदक संख्या वृद्धि गर्ने लक्ष्य राखेको छ । त्यसका लागि खेलाडीको अभ्यास र तयारी मात्र पर्याप्त नहुने भन्दै प्रशिक्षकको दक्षता, खेलसम्बन्धी नयाँ नियमको जानकारी र निर्णायकको निष्पक्ष भूमिकालाई पनि प्राथमिकतामा राखिएको बोर्डको भनाइ छ ।
दुई दिनसम्म सञ्चालन हुने रिफ्रेसर कोर्सले प्रशिक्षक तथा रेफ्रीहरूलाई नयाँ प्राविधिक ज्ञान र खेल सञ्चालनसम्बन्धी अद्यावधिक जानकारी प्रदान गर्ने अपेक्षा गरिएको छ । दसौँ राष्ट्रिय खेलकुदमा कोशी प्रदेशको नतिजा सुधार गर्ने अभियानअन्तर्गत बोर्डले खेलाडीको तयारीसँगै प्रशिक्षक र निर्णायकको क्षमता विकासलाई समेत महत्त्व दिएको देखिन्छ ।


