काठमाडौं—गए राति सम्पन्न फिफा विश्वकपको सेमिफाइनल खेलमा इङ्ल्यान्डलाई २–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा प्रवेश गरेको छ। तर, जीतपछि अर्जेन्टिनाका खेलाडीहरूले 'फकल्याण्ड टापु अर्जेन्टिनाकै हो' भन्ने सन्देश लेखिएको ब्यानर प्रदर्शन गर्दै उत्सव मनाएपछि टोली फेरि विवादमा फसेको छ।
यसअघि क्वाटरफाइनलमा इजिप्टसँगको खेलमा पनि अर्जेन्टिना विवादमा तानिएको थियो। सेमिफाइनल खेलपछिको यो विवादास्पद सेलिब्रेशनलाई लिएर अहिले फिफाबाट अनुशासनको कारबाही हुनसक्ने टिप्पणी भइरहेको छ।
दक्षिण एटलान्टिक महासागरमा अवस्थित फकल्याण्ड टापुको सार्वभौमिकतालाई लिएर बेलायत र अर्जेन्टिनाबीच लामो समयदेखि गहिरो विवाद रहँदै आएको छ। सन् १९८२ मा यही टापुको विषयलाई लिएर दुई देशबीच ७४ दिनसम्म युद्ध समेत चलेको थियो। इतिहासकै यस्तो संवेदनशील सम्बन्ध भएका कारण इङ्ल्यान्ड र अर्जेन्टिनाबीचको सेमिफाइनल भिडन्त उच्च सुरक्षा व्यवस्थाका बीच खेलाइएको थियो।
अर्जेन्टिनी टोलीले फुटबल मैदानमा यस्तो ब्यानर प्रदर्शन गरेको यो पहिलो घटना भने होइन। यसअघि सन् २०१४ मा स्लोभेनियाविरुद्धको मैत्रीपूर्ण खेलअघि पनि यस्तै ब्यानर देखाएको भन्दै फिफाले अर्जेन्टिना फुटबल संघलाई २० हजार पाउन्ड जरिवाना गराएको थियो।