काठमाडौं—बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बरमा जुनसुकै अवस्थामा पनि स्वदेश फर्किने अडान व्यक्त गरेकी छन्। भारतबाट बंगलादेश फर्किँदा मृत्युदण्ड वा गिरफ्तारीको सामना गर्नुपर्ने अवस्था आए पनि आफू पछि नहट्ने उनले स्पष्ट पारेकी छन्।
समाचार एजेन्सी एसोसिएटेड प्रेस (एपी) लाई इमेलमार्फत दिएको अन्तर्वार्तामा हसिनाले भाग्यमा मृत्यु लेखिएको भए पनि अर्को देशमा बस्नुभन्दा आफ्नै देशको माटो र जनताबीच मर्न चाहेको बताएकी छन्। उनले आफ्नो निर्णयमा कुनै परिवर्तन नहुने पनि स्पष्ट पारेकी छन्।
देश छाडेपछि मृत्युदण्डको सजाय
हसिना बंगलादेशको राजनीतिमा लामो समयदेखि प्रभावशाली रहँदै आएकी नेत्री हुन्। उनी सन् १९९६ देखि २००१ सम्म र सन् २००९ देखि २०२४ सम्म गरी चार कार्यकाल प्रधानमन्त्री बनेकी थिइन्।
तर, सन् २०२४ को अगस्टमा विद्यार्थीहरूको नेतृत्वमा भएको व्यापक आन्दोलनपछि उनले प्रधानमन्त्री पद त्याग्दै देश छाडेर भारतमा शरण लिनुपरेको थियो।
त्यसपछि सन् २०२५ मा बंगलादेशको विशेष न्यायाधिकरणले मानवताविरुद्धको अपराधमा दोषी ठहर गर्दै उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो। आन्दोलनका क्रममा सुरक्षा बललाई हिंसात्मक कारबाही गर्न आदेश दिएको उनीमाथि आरोप थियो।
संयुक्त राष्ट्रसंघका अनुसार उक्त आन्दोलनका क्रममा करिब १,४०० जनाको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए। तर, हसिनाले आफूमाथिका आरोप र न्यायाधिकरणको फैसलालाई अस्वीकार गर्दै त्यसलाई अवैध र राजनीतिक प्रतिशोधबाट प्रेरित भएको दाबी गर्दै आएकी छन्।
बंगलादेशको प्रत्यर्पण माग
बंगलादेशको सरकारले पटक–पटक भारतसँग हसिनालाई स्वदेश फर्काइदिन औपचारिक आग्रह गर्दै आएको छ। तर, भारतले यस विषयमा अहिलेसम्म स्पष्ट निर्णय सार्वजनिक गरेको छैन।
हसिनाले स्वदेश फर्किएपछि आफू पक्राउ पर्न, जेल जान বা यातना भोग्नुपर्ने सम्भावना रहेको स्वीकार गरेकी छन्। तर, विदेशमा बसेर आफ्ना देशवासीको दुःख हेर्न नसक्ने उनको भनाइ छ।
यद्यपि, उनले भारतबाट कुन बाटो वा माध्यम हुँदै बंगलादेश फर्किने भन्नेबारे खुलाएकी छैनन्।
आवामी लिगका कार्यकर्ता मारिएको आरोप
अन्तर्वार्ताका क्रममा हसिनाले आफ्नो पार्टी आवामी लिगमाथि भइरहेको कारबाहीप्रति आक्रोश व्यक्त गरेकी छन्।
उनले सन् २०२४ को अगस्टपछि आफ्नो पार्टीका कम्तीमा २० हजार सदस्यको हत्या गरिएको र हजारौं कार्यकर्तालाई पक्राउ गरी यातना दिइएको आरोप लगाएकी छन्।
बंगलादेशमा अहिले सामान्य राजनीतिक तथा लोकतान्त्रिक वातावरण नरहेको र आफ्नो पार्टीको अस्तित्व समाप्त पार्ने प्रयास भइरहेको उनको दाबी छ।
हसिना सत्ताच्युत भएपछि नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा १८ महिनासम्म अन्तरिम सरकार सञ्चालन भएको थियो। त्यसपछि भएको आमनिर्वाचनमा पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान नेतृत्वको पार्टीले ठूलो जित हासिल गरेको थियो।
प्रतिबन्धका कारण हसिनाको पार्टी आवामी लिगले भने निर्वाचनमा भाग लिन पाएको थिएन।
कट्टरपन्थी शक्तिको प्रभाव बढेको चिन्ता
हसिनाले बंगलादेशमा कट्टरपन्थी तथा अतिवादी शक्तिको प्रभाव बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेकी छन्।
आफ्नो १५ वर्षे शासनकालमा कट्टरपन्थविरुद्ध कडा नीति अपनाइएको भए पनि अहिलेको राजनीतिक परिस्थितिले त्यस्ता शक्तिलाई थप प्रोत्साहन गरेको उनको आरोप छ।
स्वदेश फर्किनका लागि भारत वा अमेरिकाजस्ता विदेशी शक्तिको सहयोग अपेक्षा गर्नुभएको हो भन्ने प्रश्नमा हसिनाले आफूलाई कुनै विदेशी शक्तिको आशीर्वाद आवश्यक नरहेको बताएकी छन्।
उनले सबै देशसँग सहकार्य र मित्रताको नीति अवलम्बन गर्ने पक्षमा आफू रहे पनि आफ्नै देश फर्किन कसैको सहयोग आवश्यक नरहेको स्पष्ट पारेकी छन्।


