बागलुङ—सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताको घरमा सञ्चालित जुवाखालमा प्रहरीले छापा मारेर ९ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार बागलुङ नगरपालिका–२ निवासी रास्वपाका क्षेत्रीय सभापति अमर खड्काको घरमा छापा मारेर उनीसहित ९ जनालाई नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरूको साथबाट १ लाख ६४ हजार रुपैयाँ नगदसमेत बरामद गरेको छ।
स्थानीयवासीले विरोध जनाउँदै विद्रोहमा उत्रिने चेतावनी दिएपछि प्रहरीले खड्काको घरमा छापा मारेको बताइएको छ। छापा मार्ने क्रममा घरमै जुवाखाल सञ्चालन भइरहेको फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैको स्वास्थ्य परीक्षण (मेडिकल) गराएपछि जुवा ऐनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।


