काठमाडौं,१५ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट जनसंगठनका नेताहरूले अपमान सहेर पार्टी एकता नहुने बताएका छन्। पार्टीमा एकताका लागि १० बुँदे सहमति गरेको कार्यदलमा रहेका नेपाल पक्षका नेताहरूसँग भएको छलफलमा जनसंगठनका नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्ति अपमानपूर्ण भएको बताएका छन्।

नेपाल पक्षका कार्यदलका सदस्य र जनसंगठनका नेताहरुबीच बानेश्वरस्थित एक होटेलमा छलफल भएको थियो। छलफलमा जनसंगठनका नेताहरूले माधव नेपाल विनाको पार्टी एकतामा साथ दिन नसक्ने बताएका थिए। ‘केपी ओलीले अपमानपूर्वक ढङ्गले एकता गर्न खोजिएको देखिन्छ। यस्तो एकता सम्भव हुन्न भन्यौं’, युवा सङ्घका अध्यक्ष नरेश शाहीले भने।

उनका अनुसार छलफलमा अधिकांश जनसंगठनका नेताहरूले अध्यक्ष ओलीले पार्टी एकता नचाहेको, तर अप्ठ्यारोमा परेकाले मात्र एकताको कार्ड फालेको बताएका थिए। ‘बालकोटको बार्दलीबाट लगाएको आरोप, आफू पक्षका नेताहरूको बैठकबाट दिएको आममाफी जस्ता अभिव्यक्ति कायम रहेसम्म एकता हुँदैन भनेका छौँ,’ उनले भने।

केही सहभागीले भने कार्यदलका नेताहरूमाथि नै आशंका गरेका थिए। ‘कार्यदलमा रहेका नेताहरू कस्तो हुनुभयो भने युद्धमा गएको योद्धाले बन्दुक नै बुझाएर आउनुभयो,’ अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भने। माधव नेपाल विनाको एमाले भनेर ओली तर्फका कार्यदल सदस्यहरूले सार्वजनिक रूपमा भनिरहेकाले आशंका उत्पन्न भएको पराजुलीको भनाइ थियो। ‘जब-जब केपी ओली सङ्कटमा पर्छन्, त्यस बेला एकताको कार्ड फाल्ने गरेका छन्, त्यसैले यसबारे नेताहरू सचेत हुनुपर्छ,’ उनी भन्छन्।

१० बुँदे सहमतिपछि युथ फोर्स ब्यूँताएर नेता माधव नेपालविरुद्ध गतिविधि गर्नुले पनि अध्यक्ष ओली एकताप्रति इमान्दार छैनन् भन्ने पुष्टि हुने जनसंगठनका नेताहरूले बताएका थिए। तर कार्यदलमा रहेका नेताहरूले भने एकताको पक्षमा उभिन र उत्तेजक गतिविधि नगर्न आग्रह गरेका थिए। ‘पार्टी एकता भएपछि युथ फोर्स, अखिल फोर्स भन्ने जस्ता दस्ता रहँदैनन्, यसमा ढुक्क हुनुहोस्,’ कार्यदलमा नेपाल पक्षको संयोजक भीम रावलले भनेका थिए।

ओली निकट युवाहरूले युथ फोर्स बनाएपछि नेपालतर्फ अखिल फोर्स र पिपुल्स भोलियन्टियर्स (पीभी) ब्यूँताइएको छ। नेपाल निकट अखिल र युवा संघका नेताहरूले ओली पक्षले युथ फोर्स कायम रहेसम्म अखिल फोर्स र पीभीको गतिविधि नरोक्ने अडान लिएका छन्। पार्टी उपाध्यक्ष समेत रहेका रावलले भने एकता प्रक्रियालाई बाधा पर्ने गरी गतिविधि नगर्न आग्रह गरेका छन्। ‘एकताको पक्षमा इमान्दार प्रयत्न गर्नुपर्छ। अहिले दुवैतर्फ आक्रोश छ, यो शान्त हुन पनि समय लाग्छ,’ रावलको आग्रह थियो।

कार्यदल सदस्य एवं पार्टी उपमहासचिव घनश्याम भुसालले नेपालको भूराजनीतिक अवस्था र समाजको विकास अवस्थाका कारण पनि एमालेको एकता जरुरी रहेको बताएका छन्। ‘संविधान र संसद् जोगाउन उभिएका हामीहरू अब एमाले जोगाउन लागिपर्नुपर्छ,’ भुसालको आग्रह थियो।

एमाले विभाजन गर्न विदेशी शक्ति, नेपाली काँग्रेस र माओवादी केन्द्र समेत लागिपरेको उनको भनाइ थियो। ‘घनश्याम भुसालले अलिक दार्शनिक तरिकाले सम्झाउन खोज्नुभएको थियो। तर सार भने एकताको पक्षमा उभिनुपर्छ भन्ने नै थियो,’ अर्का सहभागी बताए।

कार्यदलका अर्का सदस्य सुरेन्द्र पाण्डेले पनि कम्युनिस्ट आन्दोलन जोगाउन एमाले एकताबद्ध हुनुपर्ने बताएका थिए। दश बुँदे सहमति कार्यान्वयन भएपछि फेरि केन्द्रीय कमिटीको दसौँ बैठक राखेर अगाडि बढ्ने उनले बताए। ‘चौधौं पुगेको थियो। अस्ति दसौं राख्नुभयो, त्यसको पनि अर्थ छैन। अब हामीसहित फेरि दसौँ बैठक बस्छ,’ पाण्डेले भनेका छन्।

कार्यदलका सदस्य एवं पार्टी सचिव गोकर्ण विष्टले भने पार्टी विभाजन उचित नहुने र त्यसतर्फ लाग्न नहुने बताएका छन्। ‘२०५४ मा पार्टी विभाजन हुँदा क्षति मात्रै भयो, त्यसतर्फ सोच्नुपर्छ। एमाले एकताबद्ध बनाउनुतिर लाग्नु अहिलेको नेतृत्वको दायित्व हो,’ उनको भनाइ छ।

कार्यदलका अर्का सदस्य रघुजी पन्तले पनि सम्मानजनक एकता हुनेमा जनवर्गीय संगठनका नेताहरूलाई आश्वस्त पार्न खोजेका छन्। त्यसको प्रयत्न भइरहेको जानकारी पन्तले दिएका थिए। ‘माधव नेपाल विनाको एमाले’ भन्ने ओली पक्षका नेताहरूको भनाइको अर्थ नहुने नेताहरूले बताएका छन्। ‘माधव नेपाल विना त हामी पनि जाँदैनौं नि ! कसले कहाँ बोलेको छ भन्नेतिर नलाग्नुहोस् भन्ने कुरा सबैजसो नेताहरूले राख्नुभयो’, एक सहभागी भन्छन्।

कार्यदल संयोजक एवं उपाध्यक्ष रावलले त माधव नेपाल एक्लै एकता प्रक्रियामा छुटे पनि एमाले विभाजन हुने बताएका छन्। ‘माधव नेपाल एक्लै रहनुभयो भने पनि त्यहाँ पार्टी बन्छ। हामी स्थायी कमिटीका नेताहरू मात्रै मिलेर हुँदैन,’ रावलले भनेका थिए।