✍️ तारा सुनुवार

नेपाली कांग्रेस छाडेर गत साता एमालेमा प्रवेश गरेदेखि लगातार टेलिफोन आउन थालेकोले हैरान भएकी छु । परिवार, नातागोता , इष्टमित्र, शुभचिन्तक साथीहरुको मात्रै होइन , भरखरै आवद्धता त्यागेको पार्टी नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको पनि लगातार फोन आइरहेको छ । सबै जसोको एउटै प्रश्न छ यति लामो समय सम्म योगदान पु¥याएको पार्टीलाई चटक्क किन छाड्यौ ? हिँजो कांग्रेसमा रहँदा खेदो खन्ने र गत स्थानीय निर्वाचनमा म उमेद्वार हुँदा अन्तरघात गर्ने कांग्रेसीहरु पनि यही प्रश्न गरिरहेका छन् । हेरकलाई जवाफ दिएर साध्य हुने रहेनछ । मैले संक्षिप्त जवाफ दिने गरेकी छु –‘ हामी जस्ता इन्दार र निष्ठावान कार्यकर्तालाई कांग्रेसमा विभेद गरियो । नाताबाद चाकडीबाद खुरापातबाद, धनबाद र डनबाद हाबी हुँदा हामी जस्ता निष्ठाको राजनीतिक गर्ने इमान्दार कर्याकर्ताका लागि कांग्रेसमा ठाउँ रहेन ।’

वास्तवमा म समाजसेवालाई निरन्तरता दिनका लागि राजनीतिमा होमिएकी साधरण कार्यकर्ता हुँ । मेरो बुबा पंचायतकालमा लगातार २० वर्ष प्रधानपन्च भएर समाजिक विकासका लागि धेरै काम गर्नु भयो । यस क्रममा थुप्रै सम्पत्ति सकियो । ज्यादै दुख गरेर पढ्नु परेकोले विद्यार्थी जीवनमा मलाई राजनीति प्रति एक खालको वितृष्णा थियो । तर साथीहरुको करकापले क्याम्पस तहमा पढ्दा नेवि संघमा आवद्ध भएँ । पढाई पुरा गर्न नपाउँदै बिवाह भयो । बिवाह पछि ललितपुर महानगरपालिका वडा नं १७ मा स्थायी बसोबास भयो । एक्सन एड नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्न थालेँ । सामाजिक सेवामा केन्द्रित संस्थामा काम गर्ने क्रममा राजनीतिले आकर्षित ग¥यो । ललितपुर महानगरपालिकाको नागरिक मन्चको संयोजकका रुपमा काम गर्न थालेँ । घर परिवार, नाता गोता, इष्टमित्र तथा संगीसाथीहरु धेरै जसो कांग्रेसमै थिए । कांग्रेस मार्फत राजनीतिमा आवद्ध हुने वातावरण बन्यो ।

सामाजिक कामको पृष्ठभूमी भएका कारण र विभिन्न गैरसरकारी संघ संस्था मार्फन जनसेवामा समर्पित भएका कारण सुरुवाती दिनहरुमा कांग्रेसका साथीहरुले पनि हाई हाई नै गरे । छोटो समयमै नेपाल तरुणदलको महाधिबशेन प्रतिनिधि हुँदै जिल्लातहसम्म पुगेँ , विपि चिन्तन प्रतिष्ठानको ललितपुर संयोजक भएँ । १३ औं महाधिबशेनमा पनि साथीहरुले राम्रै रेस्पोन्स गर्नु भयो । गत स्थानीय निर्वाचनमा केही साथीहरुले उपमेयरमा उमेद्वार बन्ने गरी लविङ गर्न सुझाव दिएका पनि थिए , तर एक पटकका लागि त्याग गर्नु पर्छ भनेर बरु वडा अध्यक्षमै चित्त बुझाउने निधो गरेँ , तर वडा अध्यक्षका लागि नभएर वडा सदस्यका लागि टिकट दिइयो । ठिकै छ , जहाँ रहे पनि काम गर्ने त होनी भनेर चित्त बुझाएँ । तर मेरा विरुद्ध भित्र भित्रै जल्ने र इश्र्या गर्नेहरु संगठित भइसकेका रहेछन् । अन्तरघात गरेर कांग्रेसकै साथीहरुले चुनाव हराए । तै पनि एक माघले जाडो जाँदैन भनेर इमान्दारीताका साथ कर्मक्षेत्रमा खटिइरहेँ । तर आसन्न १४ औं महाधिबशेनमा त मेरो जरो उखेल्ने संगठित प्रयास नै भयो । केही लिनका लागि नभएर दिनका लागि मात्रै कांग्रेस सँग जोडिएकी म बबुरी विरुद्ध त यति ठूलो षड्यन्त्र हुन्छ भने अरु कसरी बाँकी रहलान र ? अब कांग्रेसमा इमान्दार र निष्ठावानहरुको भविष्य छैन भन्ने लाग्यो । संस्थापक नेता गणेशमानले समेत अपमान सहन नसकेर कांग्रेस पार्टी त्यागेको संझे , सन्त नेता कृष्णप्रसाद भट्टराई माथि भएको ज्यादती संझे , अनि कांग्रेस पार्टी छाड्ने निधो गरेँ ।

राजनीतिबाटै विश्राम लिने की ? कांग्रेस मात्रै छाड्ने ? भन्ने दोधारमा थिएँ म केही दिन , तर उमेर र उर्जा धेरै बाँकी रहेका कारण राजनीतिबाट विश्राम लिन मन लागेन । संविधान निर्माण तथा त्यस यताको मुलुकको राजनीतिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाह गरेको भूमिकाबाट म प्रभावित थिएँ । त्यसैले अब नेकपा एमाले मार्फत फेरी एक पटक प्रयास गर्ने सोच मनमा पलायो , अनि एमालेमा प्रवेश गरेँ । कांग्रेसमा बसेर अन्तरघात सहनु भन्दा , तालमेलका नाममा माओवादी तथा अराजक जत्थाका लागि भोट माग्नु भन्दा एमालेमा आवद्ध हुनु उचित भन्ने सुझाव संगी साथीहरुबाट पनि पाएँ ।

करिव साढे दुई दशकको अवधी मैले कांग्रेसमा विताएँ । तर कांग्रेस जे हो भन्ने मलाई लागेको थियो , त्यो होइन रहेछ । अपवादका रुपमा कांग्रेस भित्र केही नेता तथा कार्यकर्ताहरु अत्यान्न निष्ठावान , इमान्दार , क्षमतावान र जाँगरिला छन् , तर उनीहरुलाई डनवान र धनवानहरुले टाउको उठाउनै दिएका छैनन् । नेतृत्वमा स्थापित हुने अधिकांश पंक्तिको पृष्ठभूमि हेर्ने हो भने कांग्रेसभित्रको निष्ठा र आदर्श ओइलाउँदै गएको छ । कांग्रेसभित्र परिवारवाद र नातावादले समेत नपुगेर धनवाद र डनवाद हावी हुँदै गएको हो छ ।

वडा, नगर, क्षेत्र र जिल्ला तहको अधिवेशनसम्म आइपुग्दा पार्टीभित्र चरम गुटबन्दी मौलाउन थालेपछि निष्ठावान कार्यकर्ताहरु पलायन भइसकेका छन् । केन्द्रिय नेतृत्व पंक्तिमा रहनेहरुले गुट बाहेक दायाँ बायाँ छाड्न छाडिसकेका छन् । अधिबशेनमा स्वतन्त्रपूर्वक नेतृत्व चयन गर्न पाउने प्रतिनिधिको नैसर्गिक अधिकार माथि अंकुश लगाउनु पार्टी हितको विषय पक्कै हुँदैन । व्यक्ति बलियो बनाउने होडबाजीले पार्टी संगठन दिन प्रतिदिन कमजोर र बद्नाम बन्दै गैरहेको छ । पार्टीमा योगदान र क्षमताका आधारमा मूल्यांकन गर्ने संस्कार विकास हुनुको सट्टा झन पतन हुँदै गयो । गाउँदेखि जिल्ला तहका अधिवेशनहरु नियाल्दा संभावना बोकेका क्षमतावान नेताहरुलाई विभिन्न ढंगले तल्लो तहदेखि नै रोक्ने प्रयत्न गरेको देखियो । अरुलाई एउटा औंला देखाइरहँदा चारवटा औंला आफैंतिर फर्किएको हुन्छ भन्ने हेक्का कार्यकर्तादेखि नेतृत्व तहमा हुनुपर्ने थियो , तर नेतृत्व तह झन अन्धो देखियो ।

नेपाली कांग्रेसभित्र असल मानिसहरु छैन भन्नु हुँदैन पक्कै पनि । तर मुल रुपमा त्यो पार्टीको नेतृत्व सत्ता बाहिर बस्नै सक्दैन । शक्तिबाट उ अलग हुनै सक्दैन । लुट्न बानी लागेकाहरु सत्ता बाहिर बसेर के गर्ने ? सत्ता बाहिर बसे लुट्न पाइँदैन । ठग्न पाइँदैन । रातारात भ्रष्टाचार गरेर देश कंगाल गर्न पाइदैन । लुट, भ्रष्टाचार, ठगि, कुशासन, नाताबाद र हैकम चलाउनपनि पाइँदैन । त्यसैले उ जसरिपनि, जुन मुल्य चुकाएर भएपनि सत्तामा टास्सिइरहन चाहन्छ । देशको भविष्य होइन आफ्नो हातमा सत्ताको भविष्य प्रमुख हो नेपाली कांग्रेसका लागि । नेपाली कांग्रेस प्रजातन्त्रका नाममा एकतन्त्र चलाउन खोज्छ भन्ने महसुस जनताले गरेका छन् ।

२०५० सालदेखि नेविसंघको संगठन विस्तारमा अवद्ध भएकी मैले जनयुद्धका नाममा माओवादीको ज्यादती पनि सहेँ । मैले मात्रै होइन हाम्रो परिवारले पनि सह्यो । माओवादी द्धन्दकालमा समेत विभिन्न जिल्लाको भ्रमण गरी आम जनतालाई कांग्रेसप्रति आकर्षित गराउँदै लेख रचना मार्फत नेपाली कांग्रेस संगठनलाई मजबूत बनाउन अहोरात्र खटेँ । २०६२ –२०६३ को जनआन्दोलनमा सेनाको धम्की र प्रहरीको लाठिको समेत प्रवाह नगरी होमिएँ । गाउँगाउँमा एम्बुलेन्स संचालन, खानेपानी, सिंचाइ , स्वास्थ्य, शिक्षा पर्यटन लगायत विविध क्षेत्रमा विशेष योगदान पु¥याउँदै आएँ । पार्टीबाट केही खोजिन । यो पद चाहियो , उ पद चाहियो भनेर कहिल्यै भनिन । राष्ट्रिय÷अन्तर्राष्ट्रिय राजनीतिको विश्लेषणात्मक सुझाव सल्लाह नेतृत्वलाई दिँदै समावेशी लोकतन्त्रका पक्षमा आवज उठाउँदै गएँ । नातावाद र दातावादबाट टाढा रहनुपर्ने सुझाव पनि दिएँ । तर मेरो यो निश्वार्थ योगदान नेपाली कांग्रेसका नेता तथा स्थानीय तहका झण्डे कार्यकर्ताका लागि अपच भयो । चाहेको भए मैले स्थानीयतहका झण्डे कांग्रेसीहरुलाई दारु र मासुले लठ्ठ बनाएर आफ्नो पछि भिड देखाउन सक्थेँ , केन्द्रिय नेताहरुलाई विशेष प्रभावमा पारेर गतिलै पदको टिकट हात पार्न पनि सक्थेँ , तर राजनीतिमा यस्तो विकृति प्रवेश गराउन मैले चाहिन । कांग्रेसको धमिलो छवीलाई संग्लो बनाउन खोजेँ , तर झिँगाहरुको भिडमा महुरी टिक्न नसकेको जस्तै अवस्थामा पुगेँ म ।

२००७ सालदेखि २०४६ हुँदै २०६२/०६३ आन्दोलनसम्म नेपाली कांग्रेसको अग्रणी भूमिकालाई नजर अन्दाज गर्न मिल्दैन तर त्यस यताको अवस्थामा नेपाली कांग्रेस सत्ता प्राप्तिका लागि गठित समुहको हैसियत भन्दा माथि उठ्न सकेन । जसले माथि उठाउने प्रयन्त गरे उनीहरु कांग्रेसबाट खेदिँदै र विस्थापित हुँदै गए । समयमै कांग्रेस छोड्न पाएकोमा एक हिसावले मलाई गर्वको अनुभुति भएको छ । यतिबेला मैले गणेशमान सिंहलाई संझिरहेकी छु् ।

२०४६ सालको जनआन्दालनमा उनी सर्वोच्च कमान्डर थिए । जनआन्दोलनपछि उनैलाई प्रधानमन्त्री हुन आग्रह गरिएको थियो । तर, त्यसलाई उनले अस्वीकार गरे । २०४८ सालको निर्वाचनमा पनि उनले उम्मेदवार बन्न अस्वीकार गरे । उक्त निर्वाचनपछि महामन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए । त्यसको तीन वर्षपछि नै गणेशमान सिंहले सदाका लागि कांग्रेस छाडे । उनले कांग्रेस पार्टीमा ४८ वर्ष बिताए । तर, कांग्रेस छाड्दा भने उनले चित्त दुखाएर बाहिरिनुपरेको थियो ।

कांग्रेस छाड्ने क्रममा गणेशमान सिंहले थिए– ‘मैले हाम्रो सरकार गठन हुनेबित्तिकै भनेको थिएँ– अल्पकालीन र दीर्घकालीन कार्यक्रम बनाउनुपर्छ । नियुक्तिमा पार्टीको टिकट पाएर चुनाव हारेकाहरूलाई दोहोरो अवसर दिनु हुँदैन । जातीय सन्तुलन कायम गर्नुपर्छ । शान्तिसुरक्षा हरहालतमा कायम गर्नैपर्छ र महंगी घटाउन नसके पनि बढ्न दिनुहुँदैन । तर ‘प्रथम ग्रासे मक्षिकापातः’ भनेजस्तै राजदूत नियुक्तिमा सात पदमा ६ जना ब्राह्मण परे । मैले त्यसको विरोध गरेँ । एउटा जातलाई मात्र महत्व दिनु ठीक हुँदैन, सबैलाई समान गर्नुपर्छ ।’

2022-04-05 (2)

गणेशमान सिंहले यसरी कांग्रेस छाडेको जान्दा जान्दै पनि कांग्रेसमा सक्रीय भइरहनु मेरो गल्ती थियो की जस्तो लाग्छ अहिले । किनकी कांग्रेस विचारविहीन, सैद्धान्तिक रूपमा विचलित र पार्टीको आदर्श तथा मूल्यमान्यताबाट टाढिएको त्यतिबेलादेखि नै हो । तर पछिल्ला दिनमा त सुध्रिनुको सट्टा झन् झन् फोहरी हुन पग्यो । व्यक्तिगत लोभ र स्वार्थकेन्द्रित गुट र उपगुट कांग्रेमा मौलाउँदै गए । कांग्रेसका नेता र कार्यकर्तामा अझ धेरै लोभ बढेको छ । त्यसले गर्दा सैद्धान्तिक विचलन तीव्र हुँदै गएको छ । आफ्नो पार्टीको सिद्धान्त के हो भन्ने नै थाहा नभएकाहरू कांग्रेस राजनीतिको माथिदेखि तलसम्म हावी छन् ।

उनीहरूमा शक्ति र सम्पत्ति हासिल गर्ने लोभबाहेक अन्य कुराको कुनै मतलब पनि छैन । कुनै पनि दल सैद्धान्तिक रूपमा विचलित भएपछि त्यसले जनअपेक्षाभन्दा पनि नेताको स्वार्थपूर्तिको काम मात्र गर्न सक्छ । यतिबेला कांग्रेसमा भएको त्यही छ । मुलुकको राजनीतिक विकृतिका पर्यय मानिने शेरबहादुर देउवा तथा उनको परिवारको निजी कम्पनी जस्तो भएको छ कांग्रेस । देउवाका विकल्पका लागि अघि सरेको कोइराला परिवारको हालत त्यस्तै छ । संभावना बोकोका भनिएका युवा नेताहरु चाकडी र चाप्लुसीमा व्यास्त छ । एकातिर युवा नेता तथा कार्यकर्ताहरुले चाकडी र चाप्लुसी बाहेक दायाँ बायाँ हेर्न छाडिसकेका छन् भने अर्कातिर नेतृत्व ओगटेर बसेका पिण्डखाने बेलाका बुढाहरुमा चरम लोभी छन् । पुराना पुस्ताभन्दा नयाँ पुस्ता झन् नालायक र भ्रष्ट देखिएको छ । कांग्रेसमा अहिले विशुद्ध स्वार्थपूर्तिका लागि मात्रै युवाहरु प्रवेश गरेका छन् ।

त्यसले गर्दा नीतिलाई होइन, नेतालाई छान्ने र उसैलाई खुसी पार्ने चलन देखियो । कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उद्देश्य धनसम्पत्ति कमाउने मात्र देखियो । नेताहरूले पनि ठेक्कापट्टा गरेर पैसा कमाएर दिनेलाई च्याप्न थाले । नेतालाई पैसा दिएर खुसी पार्ने प्रवृत्ति बढ्यो । कांग्रेस पार्टीले जुन आदर्श र विचारलाई बोकेर हिँड्थ्यो, नेताहरू अहिले त्यसबाट च्युत हुँदै गएको देखिन्छ । यस्तै अवस्था रहेमा यो पार्टीको हालत पनि बिस्तारै इतिहासमा विलीन भएका पार्टीको तहमा नपुग्ला भन्न सकिन्न । न अहिलेका नेताहरूलाई प्रजातान्त्रिक समाजवाद कस्तो हुने भन्ने स्पष्ट छ, न समाजवाद कस्तो खालको हो भन्ने नै थाहा छ ।

देशमा सपना बाँडेर मात्र हुँदैन, त्यसलाई कसरी मूर्तरूप दिने भन्ने अवधारणा पनि हुनुपर्छ । त्यो अहिलेका नेताहरूमा छैन । आफ्नो आदर्शबाट कतिसम्म नेताहरू पर पुगिसके भने पार्टीको सभापतिले कुनै जिल्लामा पुगेर अर्को पार्टीको नेतालाई भोट हाल्नु भनेर भोट समेत माग्न थाले । त्यो भनेको पार्टीको आदर्श, मूल्य र मान्यताभन्दा परको कुरा हो । पहिलेको कांग्रेसको अन्तर्राष्ट्रिय सम्बन्ध बलियो थियो । त्यो प्रतिबन्धित बेलामा समेत राम्रो थियो । तर अहिले न भारत सँग राम्रो छ , न चीन सँग । डुब्न लागेको डुंगा छाडेर सकेसक्क अर्को डुंगामा जानु नै उपयुक्त लागेर मैले कांग्रेस छाडेकी हुँ ।