काठमाडौं — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक अडानलाई लिएर फेरि चर्चा सुरु भएको छ। हिजो ओली आफ्नो अडानमा अडिग रहँदा चर्को आलोचना गर्नेहरू नै अहिले उनीसँग संवाद र सहकार्यका लागि अघि बढ्न थालेको टिप्पणी हुन थालेको छ।
यसको पछिल्लो उदाहरण नेपाली कांग्रेसका सभापति गगन थापा र ओलीबीच भएको भेटवार्तालाई लिइएको छ। मंगलबार साँझ थापा ओली निवास गुण्डु पुगेर उनीसँग भेट गरेका हुन्।
स्रोतका अनुसार दुई नेताबीच साँझ करिब ६ बजेदेखि ७ बजेसम्म एक घण्टा संवाद भएको थियो। भेटमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ।
केही समयअघिसम्म ओलीको राजनीतिक अडान र कार्यशैलीको आलोचना गर्ने नेताहरू अहिले उनैसँग संवादका लागि पुग्न थालेपछि राजनीतिक वृत्तमा विभिन्न चर्चा हुन थालेका छन्।
गगन–ओली भेटलाई सामान्य शिष्टाचार भेटभन्दा पनि पछिल्लो राजनीतिक परिस्थितिमा दुई दलका शीर्ष नेताबीच संवादको सुरुवातका रूपमा हेरिएको छ। यद्यपि भेटमा भएको छलफलको विस्तृत विषय र त्यसको राजनीतिक निष्कर्ष सार्वजनिक भएको छैन।


