विराटनगर । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेपछि त्यसले कस्तो प्रभाव पार्न सक्छ भन्ने उदाहरण अहिले नेपाल टेलिकमको इन्टरनेट सेवामा देखिएको छ ।

करिब १५ दिनअघि प्रधानमन्त्री शाहले नेपाल टेलिकमको सस्तो इन्टरनेट सेवाबारे सामाजिक सञ्जालमार्फत प्रचार गरेपछि उक्त सेवा लिने ग्राहकको आकर्षण ह्वात्तै बढेको छ ।

तर, बढ्दो मागअनुसार सेवा विस्तार गर्न नसक्दा टेलिकमका कर्मचारीमाथि कामको चाप बढेको छ भने हजारौँ ग्राहक प्रतीक्षामा बस्न बाध्य भएका छन् ।

नेपाल टेलिकमले वार्षिक ४ हजार ९ सय ९९ रुपैयाँ अर्थात् मासिक करिब ४ सय १७ रुपैयाँमा उपलब्ध गराउने इन्टरनेट प्याकेजप्रति ग्राहकको आकर्षण बढेको हो ।

निजी इन्टरनेट सेवा प्रदायकले मूल्य बढाइरहेका बेला तुलनात्मक रूपमा सस्तो यो प्याकेजले ग्राहकलाई आकर्षित गरे पनि टेलिकमले मागअनुसार सेवा उपलब्ध गराउन सकेको छैन ।

टेलिकममा नयाँ ग्राहक बन्न चाहनेको संख्या बढेसँगै इन्टरनेट जडानका लागि आवश्यक राउटरको अभाव देखिएको छ । पर्याप्त नयाँ उपकरण नहुँदा कतिपय स्थानमा पुराना राउटरसमेत प्रयोग गर्नुपर्ने अवस्था आएको छ । तीमध्ये केही राउटर जडान भएको केही दिनमै बिग्रिने समस्या देखिएपछि प्राविधिक कर्मचारी पठाएर पुनः परिवर्तन गर्नुपर्ने बाध्यता छ । यसले सेवा प्रवाहलाई थप जटिल बनाएको छ ।

टेलिकमका कर्मचारीका अनुसार यो समाचार तयार पार्दासम्म करिब १५ हजार ग्राहक इन्टरनेट जडानको प्रतीक्षामा छन् । दैनिक करिब एक सय ग्राहकले आफ्नो पुरानो इन्टरनेट सेवा परिवर्तन गरी नेपाल टेलिकमको सेवा लिइरहेका छन् । तर, नयाँ ग्राहकको चापअनुसार राउटर र प्राविधिक जनशक्तिको व्यवस्थापन हुन नसक्दा ग्राहकले नाम टिपाएर लामो समय कुर्नुपर्ने अवस्था छ ।

अर्कोतर्फ, उक्त विशेष अफरको अवधि तिहारसम्म मात्रै रहेकाले ग्राहक र कर्मचारी दुवैलाई समयको दबाब परेको छ । अफरको प्रचार व्यापक भए पनि सेवा जडानमा भइरहेको ढिलाइले टेलिकमप्रति असन्तुष्टि बढ्ने जोखिम देखिएको छ ।

निजी इन्टरनेट सेवा प्रदायकको मूल्यवृद्धिबाट उपभोक्तालाई राहत दिन सरकारले सस्तो इन्टरनेट प्याकेज ल्याउनु सकारात्मक भए पनि त्यसअनुसार पूर्वतयारी नहुनु कमजोरीका रूपमा देखिएको छ । माग धान्न आवश्यक उपकरण, प्राविधिक जनशक्ति र सेवा विस्तारको तयारीबिना आकर्षक अफर सार्वजनिक गर्दा त्यसको व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

त्यसमा पनि अन्य नियमित प्याकेजअन्तर्गत इन्टरनेट जडानका लागि तत्काल सेवा उपलब्ध हुने तर सस्तो अफर रोज्ने ग्राहकले भने महिनौँ कुर्नुपर्ने अवस्था देखिएको छ । यस्तो विभेदले ग्राहकको असन्तुष्टि थप बढाउन सक्छ ।

त्यसैले नेपाल टेलिकमले तत्काल पर्याप्त राउटरको व्यवस्था गरी प्रतीक्षामा रहेका ग्राहकलाई सेवा उपलब्ध गराउनुपर्ने देखिन्छ । अन्यथा अफरको अवधि थपेर भए पनि सबै इच्छुक ग्राहकलाई सेवा दिने व्यवस्था गर्न आवश्यक छ । सस्तो सेवा उपलब्ध गराउने घोषणा मात्रै पर्याप्त हुँदैन, त्यसलाई समयमै उपभोक्तासम्म पुर्‍याउन सक्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ ।