काठमाडौं—प्रतिनिधिसभाको बैठक चलिरहेका बेला सांसदहरू बोल्ने क्रममा नेपथ्यबाट आएको आवाज बेला–बेला माइकमा सुनिने गरेको छ। मंगलबारको बैठकमा पनि यस्तै घटना दोहोरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपककुमार साह संसदमा आफ्नो भनाइ राखिरहेका बेला नेपथ्यबाट एक व्यक्तिको आवाज माइकमा सुनिएको हो।
सांसद साह बोलिरहेका बेला माइकमा ‘झ्याउ लागिसक्यो, ल चिया खान जाऊँ अब, ओ ब्रदर’ भन्ने आवाज सुनिएको थियो।
नेपथ्यबाट आवाज आए पनि त्यसतर्फ तत्काल कसैको ध्यान गएको देखिएन। त्यसपछि सांसद साहले आफ्नो भनाइलाई निरन्तरता दिएका थिए।
संसद् बैठकका क्रममा यसअघि पनि सांसद बोलिरहेका बेला नेपथ्यबाट आएका अनपेक्षित आवाज माइकमा सुनिने गरेका छन्।


