- ✍️ आचार्य अमृत
मैले सर्वप्रथम कसम भन्ने सुनेको र थाहा पाएको म कक्षा दुईमा हुँदा हो । त्यतिबेला मैले अरू दुई जना साथीका बिचमा कसमको प्रसङ्ग सुनेँ । वास्तवमा के भएको रहेछ भने एउटा साथीको एउटा कापी हराएछ र उसलाई त्यो अर्को साथीले चोर्यो कि भन्ने शङ्का लागेछ । मैले सुन्दा कापी हराउने साथी अर्कालाई सोध्दै थियो, "विद्यानाश ?" अनि अर्काले पनि त्यत्तिकै फुर्तीसाथ भन्दै थियो, "विद्यानाश" । शङ्का गरिएको साथीले जुन स्वर र शैलीमा "विद्यानाश" भन्यो, त्यो सुन्नेले अवश्य पनि सोच्यो होला, 'यसले उसको कापी चोरेको छैन' । मलाई पनि लाग्यो, यसले चोरेको छैन । नभन्दै एकछिनपछि हराएको भनिएको त्यो कापी गृहकार्य गरिएको अर्को कापीसँगै मिसिएर सरकहाँ पुगेको रहेछ । कापी भेटिएपछि उसले साथीलाई कसम खुवाएकामा माफी पनि मागेको थियो । यति धेरै वजन थियो कसमको त्यस समयमा ।
हुर्किँदै जाँदा कसमका लागि प्रयोग गरिने विभिन्न शब्द/शब्दावलीहरू सुन्दै आइयो : म छोराछोरी भन्न नपाऊँ, आजको रात काट्न नपाऊँ, मरिजाऊँ, यतिबेला भएको छ मेरो बोली नै बन्द होस्, मेरो सम्पूर्ण ज्ञान नष्ट होस् आदि आदि । सुन्दा नराम्रो लागे पनि गलत नगर्नेले यस्ता कुरा विश्वाससाथ भन्ने गर्थे र त्यसो भनिसकेपछि उनीहरूलाई चलाइँदैनथ्यो किनभने कसम खानु भनेको सत्यको स्वीकारोक्ति हो भन्ने मानिन्थ्यो । अहिले पनि कतिपय गाउँघतिर यस्ता कसमहरू खाने गरिन्छन् आफ्नो निर्दोषिता पुष्टि गर्नका लागि । आफूलाई सभ्य र शिक्षित भनाउन चाहने सदरियाहरू हिजोआज सामान्यत: त्यस्ता शब्दमा कसम खाने गर्दैनन् ।
तर पनि कताकति कतिपय सम्भ्रान्त मानिएकाहरूले आज पनि सन्तान भाकेर कसम खाँदै छन् अरे भन्ने सुन्दै छु तर त्यसरी कसम खाइरहँदा ती कसम खानेको मुख सुकेजस्तो, स्वर काँपेजस्तो र अनुहारको चमक हराएजस्तो देखिन्थ्यो रे । त्यो सुन्ने कतिपय मानिसहरू भन्नेतिर हेर्दै मुसुमुसु गरिरहेका थिए रे । यो सुनेर टाढा बसेको मलाई लाग्यो अब कसमको वजन घटेछ, कतै यसको वजन शून्यमा पुगिसकेको त होइन ?



















