काठमाडौं—भक्तपुरको चाँगुनारायण नगरपालिका–८ कलामसीमा बुधबार साँझ ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

नगरकोटबाट जितपुरतर्फ जाँदै गरेको ना ५ त २८४७ नम्बरको ढलान मिक्सर जडित ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिँदा दुर्घटना भएको हो। ट्याक्टरमा १३ जना सवार रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा सिन्धुलीका २६ वर्षीय हेमबहादुर नेपाली र भोजपुरका ३२ वर्षीय विजय राईको उपचारका क्रममा भक्तपुर अस्पताल, दुधपाटीमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। ट्याक्टर चालक सर्लाहीका २४ वर्षीय वीरेन्द्रकुमार महतो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।