काठमाडौँ — भक्तपुर नगरपालिका–१० छालिङ रोडस्थित आर्मी ब्यारेक नजिक बुधबार साँझ श्रीमानले आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार गरी हत्या गरेका छन्।

घरायसी विवादका क्रममा ३८ वर्षीय विदुर विश्वकर्माले ३३ वर्षीया श्रीमती सलिना तोलाङ्गे विश्वकर्मामाथि खुकुरी प्रहार गरेका हुन्। गम्भीर घाइते भएकी सलिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

झगडा छुट्याउन खोज्ने क्रममा उनीहरूका ८ वर्षीय छोरा त्रिशल विश्वकर्मा पनि घाइते भएका छन्। उनलाई तत्काल भक्तपुर अस्पताल पुर्‍याइएको थियो। उपचारपछि डिस्चार्ज गरिएका बालकलाई आवश्यक संरक्षणका लागि जिल्ला प्रहरी परिसर भक्तपुरको बालमैत्री कक्षमा राखिएको प्रहरीले जनाएको छ।

घटनापछि जिल्ला प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा प्रयोग भएको खुकुरी बरामद गर्नुका साथै आरोपी विदुर विश्वकर्मालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।