उर्लाबारी—मोरङको उर्लाबारी नगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ ।

नगरपालिकाले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा आइतबार पठनपाठन भने नगरी खेलकुद, सांस्कृतिक कार्यक्रम, सिर्जनात्मक गतिविधिलगायत अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न निर्देशन दिएको हो ।

नगर कार्यपालिकाको कार्यालयले बिहीबार सूचना जारी गर्दै दुई दिन सार्वजनिक बिदा भएपछि विद्यार्थीहरूको पढाइ र अतिरिक्त गतिविधिमा असर परेको जनाएको छ ।

बालबालिकाले मोबाइल, टिभीलगायत डिजिटल सामग्री धेरै प्रयोग गर्न थालेपछि मानसिक रूपमा नकारात्मक असर परेको भन्दै अभिभावक र सरोकारवालाबाट गुनासा आएको नगरपालिकाले उल्लेख गरेको छ ।

यसपछि नगर कार्यपालिकाको असार १४ गते बसेको बैठकले असार १५ गतेदेखि आइतबार अतिरिक्त क्रियाकलापसहित विद्यालय सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।

नगरपालिकाले सबै विद्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

May be an image of ticket stub and text