काठमाडौँ — देशभर बढ्दो तापक्रमका कारण विद्यार्थीको स्वास्थ्य जोखिममा परेपछि सुनसरी र महोत्तरीका स्थानीय तहहरूले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।
सुनसरीको बर्जू गाउँपालिकाले बुधबार सूचना जारी गर्दै गाउँपालिका क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा जेठ २१ र २२ गते (बिहीबार र शुक्रबार) गर्मी बिदा दिएको छ। उक्त बिदा वर्षे बिदाबाट कट्टा गरिने जनाइएको छ।
गाउँपालिकाले अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले सावधानीस्वरूप बिदा दिइएको स्पष्ट पारेको छ। साथै, मौसम प्रतिकूल रहेमा विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार गाउँपालिकालाई जानकारी गराई बिहानको सत्रमा पठनपाठन सञ्चालन गर्न सकिने व्यवस्था पनि गरिएको छ।
यस्तै, महोत्तरीको बर्दिबास नगरपालिकाले पनि नगर क्षेत्रका सबै विद्यालय दुई दिनका लागि बन्द गर्ने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीका अनुसार बिहीबार र शुक्रबार सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय पूर्ण रूपमा बन्द रहनेछन्।
पछिल्ला केही दिनदेखि मधेस क्षेत्रमा अत्यधिक गर्मी बढेको छ। दिउँसोको समयमा तापक्रम करिब ३८ डिग्री सेल्सियससम्म पुगेपछि जनजीवन प्रभावित भएको छ। गत आइतबार गौशाला–१२ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षाकोठामै १० जना छात्रा बेहोस भएका घटना समेत सार्वजनिक भएको थियो।



















