काठमाडौं— राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक अर्थात् ग्रेडवृद्धि परीक्षाको नतिजा परीक्षा सम्पन्न भएको दुई साताभित्र सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

आगामी असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने पूरक परीक्षाको नतिजा असार २५ गतेभित्र प्रकाशन गर्ने लक्ष्य राखिएको परीक्षा नियन्त्रक टुकराज अधिकारी ले बताएका छन्।

यसअघि एसइई–२०८२ को नतिजा एक महिनाभित्र सार्वजनिक गरिएको थियो। बोर्डले पूरक परीक्षाको नतिजा पनि छिटो प्रकाशन गर्न आवश्यक तयारी अघि बढाएको जनाएको छ।

यस वर्षको एसइई परीक्षामा एक लाख ४६ हजार ५०७ विद्यार्थी ‘ननग्रेडेड’ भएका थिए। तीमध्ये कति विद्यार्थी पूरक परीक्षामा सहभागी हुन्छन् भन्ने यकिन तथ्याङ्क भने अझै प्राप्त नभएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

‘ग्रेड सि’ भन्दा कम प्राप्त गरेका विद्यार्थीहरूले पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ।