काठमाडौं । अभिनेता राजेश हमालले नेपाल–भारत सीमा विवाद र नेतृत्व क्षमताबारे गम्भीर टिप्पणी गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पछिल्लो अभिव्यक्तिपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हमालले परिपक्व र दूरदर्शी नेतृत्वको आवश्यकता औँल्याएका हुन् ।

हमालले ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ फरक विषय भएको उल्लेख गर्दै यी दुईलाई एउटै रूपमा बुझ्न नहुने बताएका छन् । उनका अनुसार सीमापार अतिक्रमण प्रायः स्थानीय नागरिक, खुला सीमा, नदीको धार परिवर्तन, हराएका सीमा स्तम्भ र बस्ती विस्तारजस्ता कारणसँग सम्बन्धित हुन्छ । यस्तो समस्या प्रशासनिक र स्थानीय प्रकृतिको हुने भएकाले संवाद, संयुक्त सर्वेक्षण र आपसी सहकार्यबाट समाधान सम्भव हुने उनले बताएका छन् ।

तर ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ भने निकै गम्भीर र रणनीतिक विषय भएको हमालको भनाइ छ । कुनै राष्ट्र स्वयं विवादित भूभागमा आफ्नो नियन्त्रण विस्तार गर्न सक्रिय हुने, सडक निर्माण गर्ने, प्रशासनिक संरचना खडा गर्ने, सुरक्षा निकाय परिचालन गर्ने र सरकारी नक्सा संशोधन गरी औपचारिक रूपमा अधिकार लागू गर्ने कार्यलाई उनले राज्य–प्रायोजित भू–अतिक्रमणको संज्ञा दिएका छन् ।

उनले कालापानी–लिपुलेक–लिम्पियाधुरा क्षेत्रलाई यसको प्रमुख उदाहरणका रूपमा उल्लेख गरेका छन् ।

वर्तमान विश्व राजनीतिक अवस्था ‘डामाडोल र अनिश्चित’ रहेको उल्लेख गर्दै हमालले राष्ट्रको नेतृत्व गर्ने व्यक्तिमा परिपक्वता, अनुभव, निर्णय क्षमता र दूरदृष्टि आवश्यक पर्ने बताएका छन् । यस्ता गुणको अभाव हुँदा राष्ट्रले गम्भीर चुनौती सामना गर्नुपर्ने अवस्था आउन सक्ने उनको चेतावनी छ ।