काठमाडौँ — ‘मीस ग्राण्ड नेपाल–२०२४’ को आयोजना हुने भएको छ । यसका विजेताले ‘मीस ग्राण्ड इनटरनेशनल–२०२४’ नेपालको प्रतिनिधित्व गर्दै विदेशमा भाग लिनेछन् । उमंग क्रियशन प्राईभेट लिमिटेडद्वारा आयोजना हुन लागेको यो सौन्दर्य प्रतियोगिताको ग्राण्ड फिनाले भदौ ११ गते हुनेछ ।
विगत ५ वर्षदेखि मीस युनिभर्स नामक सौन्दर्य प्रतियोगिता गर्दै आएको उमंग क्रियशनले यसवर्ष थाईल्याण्डको फ्रेईचाज ‘मीस ग्राण्ड’ नेपालमा पहिलो पटक गर्न लागेको हो ।
‘ब्रेभ, वोल्ड, व्युटिफुल’ को नारासहित पत्रकार सम्मेलन मार्फत घोषणा गरिएको यो प्रतियोगितामा सहभागिता जनाउनका लागी १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाले आवेदन दिन सक्नेछन् ।
आवेदकहरुको उचाइ कम्तीमा ५ फिट ३ इञ्च हुनुपर्नेछ भने यसका लागी यही असार ३१ गतेभित्र आवेदन भरिसक्नुपर्नेछ । उनीहरुले आयोजक संस्थाले निर्धारण गरेका सम्पूर्ण नियम तथा शर्तहरुको अनिवार्य पालना गर्नुपर्नेछ ।
प्रवन्ध निर्देशक उद्धव अधिकारीले यो प्रतियोगिताका विजेताले नेपालकै सबैभन्दा महँगो ताज पहिरिने अवसर प्राप्त गर्ने जानकारी दिए ।
नेपाली मोडलिङ र चलचित्र क्षेत्रमा आफ्नो विशिष्ट स्थान बनाएका प्रशान्त ताम्राकार ‘मीस ग्राण्ड नेपाल–२०२४’ को कोरियोग्राफरका रुपमा रहनेछन् भने अपाला ज्वेलर्स र व्युटी बारले यस प्रतियोगितामा सहकार्य गर्ने छ ।



















