काठमाडौं—नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सिंहदरबारमा जारी सर्वदलीय बैठकमा सुनसरी घटनाबारे सरकारलाई आवश्यक कदम चाल्न सुझाव दिएका छन्। साथै, घटनाको निष्पक्ष छानबिन, शान्ति–सुरक्षाको प्रभावकारी व्यवस्था र दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
सर्वदलीय बैठकमा गगन थापाले यस्तो भने
राष्ट्रिय स्वतन्त्र पार्टीले सुनसरीमा भइरहेको घटनाका सन्दर्भमा 'प्रमुख राजनीतिक दलहरू एक ठाउँमा बसेर साझा दृष्टिकोण निर्माण गरौँ' भन्दै सर्वदलीय बैठक आह्वान गरेको छ। प्रमुख दलको हैसियतमा सबै राजनीतिक दललाई समयमै एक ठाउँमा बोलाउने पहल लिएकामा हामीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आभार व्यक्त गरेका छौँ। यस पहलका लागि पार्टी सभापति माननीय रवि लामिछानेलाई धन्यवाद पनि दिएका छौँ।
यो अवस्थामा नेपाली कांग्रेसका तर्फबाट हामीले निर्वाह गरिरहेको भूमिकाबारे पनि बैठकमा जानकारी गरायौँ। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तर्निहित शक्ति हो। यो कसैले वरदानका रूपमा दिएको होइन, वर्षौंदेखि नेपालका नागरिक र समुदायले साझा प्रयत्नबाट आर्जन गरेको पुँजी हो। हामीले यो पुँजी जोगाइराख्नुपर्छ।
यसका लागि कोही पनि आवेग र उत्तेजनामा आउनु हुँदैन। सबैले धैर्य र संयमका साथ संवाद गर्नुपर्छ भनेर हामीले आह्वान गरिरहेका छौँ। यो सार्वजनिक आह्वानमा मात्र सीमित छैन, हामीले पार्टीका साथीहरू र पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूसँग व्यक्तिगत रूपमै टेलिफोन संवाद गरेर संयम अपनाउन र यही सन्देश प्रवाह गर्न आग्रह गरेका छौँ।
अन्य दलले पनि यही प्रयास गरिरहेका छन्। त्यसैले आ–आफ्नो दलले गरिरहेका प्रयत्नलाई साझा प्रयत्नमा बदलौँ र सबै नागरिक, स्थानीय राजनीतिकर्मी, प्रशासन तथा सञ्चारमाध्यमलाई सामूहिक रूपमा आह्वान गरौँ भन्ने धारणा नेपाली कांग्रेसका तर्फबाट राखेका छौँ।
सुनसरीलगायत प्रभावित जिल्लाका तल्लो तहमा पनि यस्तै सर्वदलीय प्रयास गर्नुपर्छ। विगतका अनुभवका आधारमा अवाञ्छित गतिविधि हुन सक्ने सम्भावना रहेका ठाउँमा घटना भएपछि मात्र सक्रिय हुने होइन, त्यसअघि नै अग्रसर भएर प्रयास गर्नुपर्छ। यसका लागि नेपाली कांग्रेसले आफ्नो भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ।
हामीले माननीय सभापतिमार्फत सरकारसमक्ष एउटा प्रश्न पनि राखेका छौँ— यतिखेर सरकार के गर्दै छ? सरकार कहाँ छ?
सरकार बन्दुकको गोली र लाठीमा मात्र भेटिनु हुँदैन। सरकार सामाजिक सञ्जालको स्टाटसमा मात्र सीमित रहनु हुँदैन। सरकार अभिभावक मात्र होइन, नेतृत्वकर्ता पनि हो। नेतृत्वको सबैभन्दा ठूलो शक्ति भनेको सहकार्य गर्न सक्नु हो। सरकारले अरूमाथि विश्वास गर्न सक्नुपर्छ र अरूले पनि सरकारमाथि विश्वास गर्न सक्ने वातावरण बन्नुपर्छ।
यस्तो अवस्थामा प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउनुपर्थ्यो। राष्ट्रपतिसँग भेट्नुपर्थ्यो, प्रदेश सरकार र स्थानीय सरकारहरूसँग संवाद गर्नुपर्थ्यो। सरकारले आफूले गरिरहेका प्रयासबारे जानकारी गराउँदै सबैको साझा प्रयत्नका लागि आधार निर्माण गर्नुपर्थ्यो।
हामीले भूकम्प र कोभिड महामारीका समयलाई सम्झियौँ। ती बेला पनि राजनीतिक दलहरूबीच व्यापक तनाव थियो। तर, प्रधानमन्त्री वा पूर्वप्रधानमन्त्रीले बोलाउँदा हामी सबै राजनीतिक मतभेद छाडेर सिंहदरबार पुगेका थियौँ।
मैले आफ्नै उदाहरण दिएँ— कोभिडका बेला हामी सबै कुरा छाडेर दौडिँदै सिंहदरबार आएका थियौँ। सुशील कोइराला प्रधानमन्त्री हुँदा भूकम्पका समयमा तत्कालीन प्रमुख राजनीतिक दलका नेताहरू पनि सबै द्वेष र मतभेद छाडेर सरकारलाई सहयोग गर्न पुगेका थिए। अप्ठ्यारो अवस्थामा एक ठाउँमा उभिनु नेपालका राजनीतिक दलहरूको चरित्र हो। नेपालका प्रधानमन्त्रीहरूले पनि संकटका बेला यस्तो अभ्यास गर्दै आएका छन्।
भोलि हामी संसद्मा यो घटनाको छानबिनका लागि आवाज उठाउँछौँ। यो कसैलाई मात्र दोष दिएर पन्छिन मिल्ने घटना होइन। यो राज्यको एक प्रकारको असफलताको निरन्तरता पनि हो।
विशेषगरी मधेशमा कुनै घटना हुँदा आवश्यकताभन्दा बढी बल प्रयोग गर्ने राज्यको जुन मानसिकता देखिँदै आएको छ, यसपटक पनि त्यसले निरन्तरता पाएको छ। यस्तो किन भइरहेको छ र यसको कारण के हो भन्ने प्रश्नको जवाफ खोज्नुपर्छ। प्रहरी वा सुरक्षाकर्मीलाई मात्र दोष दिएर हुँदैन। राज्य सञ्चालन गर्नेहरू हिजो पनि जिम्मेवार थिए, आज पनि जिम्मेवार छन्।
यसबारे उपयुक्त समयमा विस्तृत छलफल गरौँला। अहिले हामी सरकारलाई अप्ठ्यारो पार्न चाहँदैनौँ। बरु सरकारसँग मिलेर काम गर्न चाहन्छौँ, किनभने यो हाम्रो पनि जिम्मेवारी हो।
तर, यस्तो बेलामा पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने हो? ठालु भएर बस्ने हो? सबैसँग सम्पर्क गर्ने, सबै पक्षलाई जोड्ने र सबैलाई समेटेर अगाडि बढ्ने प्रयास गर्नुपर्दैन? हामीलाई लाग्छ— गर्नुपर्छ।
प्रधानमन्त्रीले तत्काल यस्तो पहल गरून् भन्ने हाम्रो चाहना र माग हो। यही सन्देश हामीले माननीय सभापतिमार्फत राखेका छौँ। बैठकमा हामीले सरकारसमक्ष हाम्रो कुरा पुर्याइदिन आग्रह गरेका छौँ।
अन्त्यमा, नेपाली कांग्रेसले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता जोगाउन आफ्नो भूमिका निर्वाह गर्नेछ। हामी अन्य राजनीतिक दलहरूसँग मिलेर साझा रूपमा काम गर्नेछौँ भन्ने प्रतिबद्धता बैठकमा राखेका छौँ।



















