विराटनगर — कोशी प्रदेश सरकारले इलामका बाढी–पहिरो पीडितका लागि राहत सामग्री पठाएको छ। स्थलमार्ग अवरुद्ध भएपछि प्रदेश सरकारले नेपाली सेनाको हेलिकोप्टरमार्फत राहत पठाएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रामप्रसाद आचार्यले जानकारी दिए।

उनका अनुसार तत्कालका लागि हेलिकोप्टरमार्फत राहत पठाइएको हो। राहतमा दैनिक उपभोग्य खाद्य सामग्री — चामल, दाल, आलु, तेल, नुन, बेसार — साथै ब्ल्याङ्केट, सिरानी, म्याट्रेस र त्रिपाल समावेश छन्।

मन्त्रालयको विपद् व्यवस्थापन शाखाका अधिकृत सदानन्द भट्टराईका अनुसार पठाइएको राहत माङ्सेबुङ गाउँपालिका (गजुरमुखी धाम) र इलाम नगरपालिकाका लागि हो। गत शुक्रबार र शनिबारको अविरल वर्षापछि आएको बाढी–पहिरोले विस्थापितहरूलाई उद्धारपछि तत्काल राहत आवश्यक परेको कारण आज सामग्री पठाइएको सचिव आचार्यले बताए।

उनका अनुसार बाढी–पहिरोका कारण इलाममा बढी क्षति भएकाले इलामलाई प्राथमिकतामा राखेर राहत पठाइएको हो। बाढी–पहिरोले इलामका सूर्योदय नगरपालिका, इलाम नगरपालिका, सन्दकपुर, माङ्सेबुङ, माई जोगमाई, देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ।

कोशी प्रदेशमा बाढी–पहिरोका कारण हालसम्म ४५ जनाको मृत्यु भएको छ, जसमा इलाममा मात्र ३८ जनाको ज्यान गएको प्रदेश सरकारका अधिकारीहरूले जानकारी दिएका छन्।