काठमाडौं — नेकपा एमालेका केन्द्रीय सदस्य सुहाङ नेम्वाङ ले पार्टी नेतृत्वलाई नयाँ पुस्तामाथि विश्वास गर्न र समाजको भरोसा जित्ने स्पष्ट मार्गचित्र बनाउन आग्रह गरेका छन्।
ललितपुरमा जारी एमाले केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै नेम्वाङले पार्टी र कम्युनिस्ट आन्दोलनप्रतिको जनविश्वास कमजोर बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे। उनले नेतृत्वलाई नयाँ पुस्तालाई जिम्मेवारी र विश्वास दिन आग्रह गरे।
“मेरो अनुरोध छ, समाज र नयाँ पुस्ताको विश्वास जित्ने नयाँ मार्गचित्र बनाउनुहोस्। हामी त्यहाँ कसरी हिँड्ने त्यो भनिदिनुहोस्। नयाँ पुस्तालाई विश्वास गर्नुहोस्,” उनले बैठकमा भने।
उनले आफूहरू पार्टी र आन्दोलनलाई सबै बन्धन र षड्यन्त्रबाट बाहिर निकाल्दै अग्रज पुस्ताको गौरवमय इतिहास समाज र नयाँ पुस्तासम्म पुर्याउन तयार रहेको बताए। “त्यो मार्गचित्र र आत्मविश्वास हामी नयाँ पुस्तासँग छ,” उनले भने।
नेम्वाङले अग्रज नेताहरूले परिवर्तनका लागि गरेको कष्टसाध्य संघर्ष र योगदानको सम्मान गर्दै अहिले पार्टीभित्र आत्मसमीक्षा आवश्यक रहेको धारणा राखे।
बैठकमा उनले चे ग्वेभारा र माओत्सेतुङका भनाइ उद्धृत गर्दै सत्य बोल्न र कमजोरी लुकाउन नहुने बताए। माओत्सेतुङको भनाइ उल्लेख गर्दै उनले भने, “जसरी दिनहुँ अनुहार नधुँदा फोहोर जम्छ, त्यसैगरी आत्मसमीक्षा र गल्ती स्वीकार नगर्दा विचारमा पतन आउँछ। गल्ती लुकाउनु भनेको रोग लुकाउनु जस्तै हो।”
उनले पार्टीभित्र समस्या रहेको स्वीकार गर्दै थपे, “हाम्रो आन्दोलनमा रोग लागेको छ, अनुहारमा फोहोर जमेको छ। गल्ती लुकाउनु भनेको रोग लुकाउनु हो।”
नेम्वाङले अब पनि पार्टी पुनर्गठित भएर नयाँ उचाइमा अघि बढ्न नसके कम्युनिस्ट आन्दोलनको गौरवमय इतिहास नयाँ पुस्तासम्म प्रभावकारी रूपमा पुग्न नसक्ने चेतावनीसमेत दिएका छन्।


