विराटनगर — पाँच वर्षको प्रेम सम्बन्धलाई विवाहको रूपमा अघि बढाएका इलामका एक युवा दम्पती अहिले लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागार पुगेका छन्।
इलामको चुलाचुली गाउँपालिका–१ का २४ वर्षीय सम्योक वानेम फागो र २१ वर्षीया भूमिका शेर्मा (फागो) लाई जिल्ला अदालत मोरङले सोमबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। उनीहरू औपचारिक विवाह दर्ता नगरे पनि करिब एक वर्षदेखि श्रीमान–श्रीमतीका रूपमा सँगै बस्दै आएका थिए।
प्रहरीका अनुसार असार ३१ गते मोरङको रंगेली नगरपालिका–६ पुरानो भन्सार टोलमा भारतबाट नेपाल प्रवेश गर्दै गर्दा दुवै पक्राउ परेका थिए। चेकजाँचका क्रममा सम्योकको मलद्वारबाट १५ ग्राम ४४ मिलिग्राम र भूमिकाको मलद्वारबाट ११ ग्राम ७ मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो।
अनुसन्धानका क्रममा दुवैले करिब एक वर्षदेखि लागुऔषध सेवन गर्दै आएको बताएका छन्। सम्योकले साथीभाइको संगतबाट लागुऔषध सेवन सुरु भएको बयान दिएका छन् भने भूमिकाले सम्योकसँग बस्न थालेपछि आफू पनि दुर्व्यसनमा फसेको बताएका छन्।
प्रहरीका अनुसार दुवैले भारतबाट ब्राउन सुगर खरिद गरेर शरीरमा लुकाई नेपाल ल्याएको स्वीकार गरेका छन्। अनुसन्धानमा उनीहरू ठूलो कारोबारी गिरोहभन्दा सेवनकर्ता रहेको देखिए पनि भारतबाट लागुऔषध ओसारपसार गरेको आरोपमा मुद्दा दर्ता गरिएको हो।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार पछिल्लो समय १८–१९ वर्षमाथिका धेरै युवा साथीभाइको संगतबाट लागुऔषधको दुर्व्यसनमा फस्ने प्रवृत्ति बढ्दो छ। रंगेली क्षेत्रमा मात्रै हाल लागुऔषधसम्बन्धी मुद्दामा १५ जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


