काठमाडौं—धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ।

बिदेह नगरपालिका–६ का कमलेश महतोका १५ महिने छोरा सिद्धान्त महतोलाई प्रहरीले सोमबार राति बिदेह नगरपालिका–१ स्थित दशगजा क्षेत्रबाट सकुशल उद्धार गरेको हो।

प्रहरीका अनुसार बालकलाई छाडेर भाग्न खोजेको अवस्थामा कमला नगरपालिका–९ की पुनितादेवी पासवानलाई पक्राउ गरिएको छ।

बालक अपहरण भएको सूचना प्राप्त भएपछि तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले निरन्तर खोजतलास र अनुसन्धान गर्ने क्रममा बालकलाई राखिएको स्थान पत्ता लगाएको जनाएको छ।

प्रहरी टोली पुगेपछि बालकलाई छाडेर भाग्न खोजेकी पासवानलाई पक्राउ गरिएको हो।

उद्धार गरिएका बालकलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ। पक्राउ परेकी पासवानविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।