काठमाडौं—देशका धेरै भागमा गएरातिदेखि लगातार वर्षा भइरहेको छ। बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा मापन भएको छ भने कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा समेत भारी वर्षा भएको छ।
गत २४ घण्टामा कर्णाली प्रदेशको रुकुम पश्चिम, बाँफीकोटमा सबैभन्दा बढी १४६.६ मिलिमिटर वर्षा भएको छ। त्यस्तै, पछिल्ला ६ घण्टामा सिन्धुपाल्चोकको बाह्रबिसेमा ८२.२ मिलिमिटर वर्षा र दोलखामा ४१.२ मिलिमिटर पानी परेको छ।
काठमाडौंको कपनमा ३ घण्टामा २६ मिलिमिटर, बैतडीको गोकुलेश्वरमा २४ मिलिमिटर र काभ्रेको धुलिखेलमा १२ मिलिमिटर वर्षा मापन गरिएको छ।
मौसमविद्हरूका अनुसार आगामी दिनहरूमा पनि पानी पर्ने क्रम जारी रहने भएकाले यस वर्ष हिले दशैं हुने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले दशैं विशेष बुलेटिन जारी गर्दै अष्टमी, नवमी र दशमीमा समेत वर्षा हुने अनुमान गरेको छ। विभागका अनुसार विशेषगरी टीकाको दिन (दशमी) मा धेरै ठाउँमा वर्षा हुने सम्भावना छ।



















