• अम्बिका भण्डारी 

विराटचोक - नगरपालिका कार्यालय अपाङ्गमैत्री नभएको र उपमेयर लगायत जनप्रतिनिधि भुईं तलामा बस्न नमानेको कारण मोरङको सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा रहेका एक हजारभन्दा बढी अपाङ्गहरु अन्यायमा परेका छन् । 

अघिल्लो कार्यकालका मेयर र उपमेयर नै भुईंतलामा बस्ने गरेको भएपनि अहिलेकी उपमेयर अकली चौधरी कार्यकक्ष माथिल्लो तलामा सारेर बसेका कारण अपाङ्गहरुले उनलाइ भेट्न पाउन छाडेका हुन् । 

अपाङ्गता भएका व्यक्तिहरुकाको निकायकी अध्यक्षदेखि महिला, बुढापाका र वालवालिकाहरु समेतको अभिभावकत्व ग्रहण गर्ने उपमेयर चौधरीलाई  भुई तलामै कार्यकक्ष बनाउन धेरैले सुझाब दिएको भएपनि उनले त्यस्तो सुझाब बेवास्ता गर्दै आएकी छिन् । अपाङ्गता भएका व्यक्तिहरुको संस्था ओपिडी सुन्दरहरैंचाकी अध्यक्ष मिना आचार्यले आफूहरुले उपमेयर चौधरीलाई भुइंतलामै कार्यालय बनाउन आग्रह गरेको तर उपमेयर चौधरीले त्यसलाइ बेवास्ता गरेको बताइन् । आचार्यले भनिन् “अपाङ्गता भएका व्यक्तिहरु आए भने तल आएर भेट्छु तर माथि नै बस्छु भन्नुहुन्छ तर अपाङ्गता भएका व्यक्तिहरुले उहाँलाइ भेट्न पाउने अवस्था छैन ।“ 

 उपमेयर चौधरीलाइ स्वयंम  पनि अपाङ्गहरुप्रति सकारात्मक नभएको आरोप लाग्ने गरेको छ । ओपीडी संस्थामार्फत पटक पटक अपाङ्गता भएका व्यक्तिहरुका समस्याबारे बैठक बसेर छलफल गर्न खोज्दा पनि ब्यस्तता देखाउँदै टारेको टारयै गरिरहेको र समय नदिएको आचार्यले बताइन् । “अहिलेकी उपमेयर प्रति हाम्रो पुर्वाग्रह होइन तर पहिला धना तामाङ उपमेयर हुँदा अपाङ्गता भएका व्यतिहरुलाई  जति सजिलो थियो, अहिले त्यति सजिलो छैन“ आचार्यले भनिन् “जुन सवालमा जो सवैभन्दा बढी पोजेटिभ हुनुपर्ने हो, उसैले वास्ता नगर्दा अपाङ्गता भएका व्यक्तिहरु त्यति खुशी छैनन् ।“ 

त्यसो त नगरपालिकाको संरचना अपाङ्गमैत्री छैन, न त लिफ्ट नै छ । त्यसैले अपाङ्गता भएका ब्यक्तिहरु माथिल्लो तलामा जान सक्दैनन् । हाल नगरपालिकाको लेखा शाखा भुईं तलामा छ । सो शाखा पहिलो तलामा सरेपछि उपमेयर भुईं तलामा सर्ने बताइए पनि सोबारे केही टुंगो लागेको छैन ।

उता सुन्दरहरैचा नगरपालिकाले भने उपमेयरको कार्यकक्ष माथिल्लो तलामा भएपनि अपाङ्गता भएकाहरुले असुबिधा सहनु नपरेको दाबी गरेको छ । अपाङता भएका ब्यक्तिहरुका लागि हेल्प डेक्स संचालन गरिएको र नगरपालिकामा आउने त्यस्ता सेवाग्राहीलाई उपप्रमुखले भुइँ तलामा आएर भेट्ने गरेको उपमेयरको सचिवालयको एक कर्माचारीले बताए  । नगरपालिकाले अपाङता भएका व्यक्तिहरुका  घर घरमा गएर  अपाङता परिचय पत्र वितरण समेतको सेवा प्रदान गरेको उनले बताए । 

करिव  १० वर्ष अगाडि गरिएको एक सर्भेमा सुन्दरहरैंचा नगरपालिका क्षेत्रमा १५ सय  अपाङ्गता भएका व्यक्तिहरु रहेको तथ्यांक निकालिएको थियो । पछिल्लो जनगणनामा अपाङ्गता भएका व्यक्तिहरुको संख्या पहिलेकै हाराहारीमा रहेको तथ्यांक निकालिएको थियो ।

तर केही समय अघि अपाङ्गता पुनस्थापना केन्द्र (सिबीआर) ले गरेको सर्वेमा सो जनसंख्या घटेको देखाइएको छ । कतिपय अभिभावकहरुले आफ्ना छोराछोरी अपाङ्ग छन् भन्न नचाहने समस्याले गर्दा तथ्यांक फरक पर्ने गरेको अपाङ्गता भएका व्यक्तिहरुका लागि कार्यरत संघ संस्थाका प्रतिनिधिहरु बताउँछन्  । तर प्रेसर, अटिजम जस्ता रोगकाट सिर्जित अन्धोपन, प्यारालाइसिस आदिका कारण पनि अपाङ्गता भएका व्यक्तिहरु दिनानुदिन बढ्दै गएको जानकारहरु बताउँछन् ।