काठमाडौं— उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवाको भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका बेला राज्यका सबै संयन्त्र समयमै र प्रभावकारी रूपमा परिचालन हुन नसक्दा अमूल्य मानवीय क्षति भएको बताएका छन्।

बुधबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले स्याफ्रुबेसीस्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा ड्युटीमा रहेका कर्मचारी बाढीपछि विद्युतगृहमै थुनिन पुगेको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

उनका अनुसार बाढीका कारण विद्युतगृह जाने मुख्य पहुँच सुरुङ अवरुद्ध भएपछि कर्मचारीहरू बाहिरी सम्पर्क र उद्धारको पहुँचबाट टाढिएका थिए। विकट भूगोल, बाढीबाट भएको व्यापक क्षति र मुख्य पहुँचमार्ग नै अवरुद्ध भएकाले समयमै उद्धार गर्न कठिनाइ भएको उनले उल्लेख गरेका छन्।

घिसिङले यस्ता विपद्का घटनामा व्यक्तिगत भूमिकाभन्दा प्रभावित नागरिकको जीवनरक्षा, शीघ्र खोज तथा उद्धार र राज्यका सबै संयन्त्रको प्रभावकारी परिचालन नै सबैभन्दा महत्वपूर्ण विषय भएको बताएका छन्।

चिलिमे जलविद्युत केन्द्रसँग विगतमा प्राविधिक तथा व्यवस्थापकीय रूपमा जोडिएको अनुभवका आधारमा उद्धारका क्रममा नेपाली सेनालाई आवश्यक प्राविधिक सुझाव तथा सहजीकरण गरेको पनि उनले बताएका छन्। साथै बाढीपछि रसुवा पुगेर प्रभावित क्षेत्रको अवस्था बुझ्दै चिलिमे, रसुवागढी र माथिल्लो त्रिशूली–१ लगायत जलविद्युत आयोजनामा उद्धार कार्य तीव्र बनाउन सम्बन्धित निकायलाई सुझाव दिएको जानकारी दिएका छन्।

घिसिङले प्रधानमन्त्रीलाई समेत खोज, उद्धार र राहतका कार्यलाई थप प्रभावकारी बनाउन आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको जानकारी गराएको बताएका छन्।

यसैबीच, चिलिमे जलविद्युत केन्द्रको सुरुङमा बाढी आएको २० दिनपछि उद्धार टोलीले चार जना कर्मचारीको शव फेला पारेको छ। ज्यान गुमाएका कर्मचारीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घिसिङले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

विपद्को कठिन परिस्थितिमा खोज तथा उद्धारमा खटिएका नेपाली सेना, भारतीय सेनाका विज्ञ टोली, नेपाल प्रहरी, चिलिमे कम्पनीका व्यवस्थापन तथा कर्मचारीसहित सम्पूर्ण उद्धारकर्मीप्रति उनले धन्यवाद व्यक्त गर्दै ज्यानको जोखिम मोलेर उद्धारमा खटिएका सबैप्रति सम्मान प्रकट गरेका छन्।