चितवन — चितवनमा चार वर्षअघि नारायणी नदी किनारमा भेटिएको कंकालको रहस्य अन्ततः डिएनए परीक्षणबाट खुलेको छ। प्रहरीले भरतपुर महानगरपालिका–१८ का टीकाराम नेपालीको हत्या उनकै दुई छोराले गरेको निष्कर्ष निकालेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०७९ फागुन १९ गते भरतपुर–१७ गाजीपुरस्थित नारायणी नदीको बगरमा खप्पर, मेरुदण्ड, कम्मर, तिघ्रा र दुवै खुट्टाका हड्डीसहित कंकाल फेला परेको थियो। घटनास्थलबाट केही कपडा, मोबाइल, मुख बाँधिएको बोरा र प्लास्टिकका थैलासमेत बरामद गरिएको थियो।

अनुसन्धानका क्रममा बेपत्ता भनिएका टीकाराम नेपालीका कान्छो छोरा अनिल नेपालीको रगतको नमुना लिएर डिएनए परीक्षण गर्दा भेटिएको कंकाल टीकारामकै भएको पुष्टि भयो। त्यसपछि प्रहरीले हत्या अनुसन्धानलाई तीव्र बनाएको थियो।

प्रहरीका अनुसार टीकारामका जेठा छोरा अम्मरसिंह नेपाली र माइलो छोरा विष्णुबहादुर नेपाली वैदेशिक रोजगारीमा रहेका थिए। दुवैलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’ जारी गरिएको थियो।

केही दिनअघि अम्मरसिंह नेपाल फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। पक्राउपछि उनले आफू र भाइ विष्णुबहादुर मिलेर बाबुको हत्या गरेको बयान दिएका छन्।

प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार बाबुआमाबीच झगडा भएपछि टीकाराम नवलपरासीको गैँडाकोटमा अर्काको घरमा काम गर्दै बसिरहेका थिए। त्यसपछि दुई छोराले उनलाई फकाएर घर ल्याए र हत्या गरी शव नारायणी नदीमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका अम्मरसिंहविरुद्ध ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। चितवन जिल्ला अदालतले उनलाई भदौ १६ गते पुर्पक्षका लागि थुनामा पठाएको छ भने अर्का आरोपित विष्णुबहादुर अझै वैदेशिक रोजगारीमा रहेका छन्।