काठमाडौं—बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल अवामी लिगका सात वरिष्ठ नेतालाई सन् २०२४ को जनविद्रोह दबाउने क्रममा भूमिका खेलेको अभियोगमा मंगलबार अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको छ। मृत्युदण्ड पाउनेमध्ये दुई जना पूर्वमन्त्रीसमेत छन्।

अदालतले उनीहरूलाई हत्या, मानवताविरुद्धको अपराध तथा हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो।

मृत्युदण्डको सजाय सुनाइएकामध्ये अवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात पनि छन्।

न्यायाधीश नजरुल इस्लाम चौधरीको नेतृत्वमा रहेको तीन सदस्यीय न्यायाधिकरणले फैसला सुनाएको हो। सरकारी वकिल मोहम्मद अमिनुल इस्लामले फैसलाप्रति खुसी व्यक्त गर्दै भने, ‘हामी यस फैसलाबाट खुसी छौँ।’

संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ को जुलाई र अगस्टमा विद्यार्थीको नेतृत्वमा भएको आन्दोलन दबाउने क्रममा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकारको कारबाहीबाट करिब १ हजार ४ सय जनाको मृत्यु भएको थियो।

आन्दोलन चर्किएपछि हसिनाको १५ वर्ष लामो शासनको अन्त्य सन् २०२४ को अगस्टमा भएको थियो। उनी हेलिकप्टरमार्फत छिमेकी भारत पुगेकी थिइन् र हाल त्यहीँ बस्दै आएको बताइएको छ। हसिनालाई पनि सन् २०२५ को नोभेम्बरमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको थियो।

राज्यद्वारा नियुक्त प्रतिरक्षा वकिल एम. हसन इमामले भने सातै जना प्रत्यक्ष रूपमा हत्यामा संलग्न नभएको दाबी गरेका छन्। उनका अनुसार अदालतले उनीहरूलाई मृत्युदण्डभन्दा कम सजाय दिन सक्ने अवस्था रहेको थियो।

मृत्युदण्ड सुनाइएका अन्य पाँच जनामा एएफएम बहाउद्दिन नसिम, शेख फजले शम्स पराश, माइनुल हुसेन खान निखिल, सद्दाम हुसेन र शेख वली आसिफ इनान रहेका छन्।

अदालतले तीमध्ये पाँच जनाको आधा सम्पत्ति आन्दोलनका क्रममा मारिएका वा घाइते भएका व्यक्तिका परिवारलाई क्षतिपूर्तिका रूपमा वितरण गर्नसमेत आदेश दिएको छ।

मंगलबारको फैसलासँगै सन् २०२४ को आन्दोलनसँग सम्बन्धित मुद्दामा दोषी ठहर हुनेहरूको कुल सङ्ख्या ६८ पुगेको छ। तीमध्ये २२ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। तर चार जना मात्रै हाल हिरासतमा रहेको बताइएको छ।

हसिनाले भने अदालतको अधिकार क्षेत्र स्वीकार गर्न अस्वीकार गर्दै आएकी छन्। हसिना सत्ताच्युत भएपछि भएको पहिलो निर्वाचनमा फेब्रुअरीमा भारी बहुमतसहित विजयी भएको प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले हसिनालाई सुपुर्दगी गर्न भारतसमक्ष अनुरोध गरेको छ।

यद्यपि, ७८ वर्षीया हसिनाले आफूलाई मृत्युदण्डको सजाय सुनाइए पनि डिसेम्बरमा स्वेच्छाले बङ्गलादेश फर्कने बताएकी छन्।