काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केही पदाधिकारीसहित १८३ जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन् ।
बिहीबार संयुक्त वक्तव्य जारी गर्दै महामन्त्री धवलशमशेर राणा, उपाध्यक्ष मुकुन्दश्याम गिरी, पूर्वमन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठसहितका केन्द्रीय सदस्य, जनवर्गीय संगठनका पदाधिकारी तथा कार्यकर्ताले पहिलो चरणमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
पार्टीको मूल नेतृत्वमा वैचारिक विचलन, स्वेच्छाचारिता र आत्मकेन्द्रित शैली हाबी भएको आरोप लगाउँदै उनीहरूले राप्रपा छाड्न बाध्य भएको बताएका छन् । संयुक्त वक्तव्यमा पार्टीको स्थापनाकालीन आदर्श ‘संवैधानिक राजसंस्था’ लाई नेतृत्वले त्यागेको आरोप लगाइएको छ ।
नेताहरूले केन्द्रीय कार्यसमितिलाई समेत जानकारी नदिई वर्तमान सरकारको ‘संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढीकरण’ गर्ने न्यूनतम साझा कार्यक्रममा सहभागिता जनाएको विषयलाई गम्भीर विरोधाभासका रूपमा प्रस्तुत गरेका छन् ।
राजसंस्था पुनर्स्थापनाको लक्ष्य बोकेको पार्टी नै गणतन्त्र बलियो बनाउने सरकारको साझेदार बनेको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन् । साथै, पार्टीभित्र निरंकुश शैली मौलाउँदै गएको, विधान उल्लंघन बढेको तथा फरक मत राख्ने नेताहरूलाई कारबाही गर्ने प्रवृत्ति बढेको आरोप पनि लगाइएको छ ।
वक्तव्यमा २०८२ सालको निर्वाचनमा ९७ प्रतिशत उम्मेदवारको जमानत जफत हुनु र जनविश्वास खस्कँदै जानुमा नेतृत्वको कमजोरी जिम्मेवार रहेको उल्लेख गरिएको छ । जेठभित्र महाधिवेशन गर्ने वैधानिक निर्णयसमेत कार्यान्वयन नभएको भन्दै पार्टीमा बस्ने वातावरण समाप्त भएको उनीहरूको भनाइ छ ।
संस्थापक नेताहरूको अपमान गरिएको र नयाँ पुस्ताको भूमिकालाई अवमूल्यन गरिएको आरोप लगाउँदै उनीहरूले राजसंस्था पुनर्स्थापनाको आन्दोलनलाई नेतृत्वले नै कमजोर बनाएको दाबी गरेका छन् । साथै, आजकै मितिबाट पार्टीका सबै जिम्मेवारी त्यागेको घोषणा गर्दै धवलशमशेर राणाले छिट्टै नयाँ पार्टी गठनको तयारी भइरहेको बताएका छन् ।

_bAP8abPgWf.jpg)

_jM7kMR9qiu.jpg)

_7aEQtyqw2d.jpg)




















