पोखरा — फ्लाई दुबईले सुरु गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडानअन्तर्गत दुबईबाट आएको जहाज बुधबार साँझ ६ः१९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
१ सय १३ यात्रु लिएर आएको बोइङ ७३७ म्याक्स जहाजलाई पोखरा विमानस्थलमा पानीको फोहराले स्वागत गरिएको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए। स्वागत कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसहित सरकारी अधिकारी तथा पर्यटन क्षेत्रका प्रतिनिधिहरू उपस्थित थिए।
नियमित तालिकाअनुसार उक्त जहाज बुधबार साँझ ७ः१५ बजे १ सय ५३ यात्रु लिएर दुबई फर्किने निरौलाले बताए।
पोखरा विमानस्थल सञ्चालनमा आएको लामो समयपछि सुरु भएको नियमित अन्तर्राष्ट्रिय उडानले पोखरालाई दुबई हुँदै युरोप, अमेरिका, अष्ट्रेलियालगायतका गन्तव्यसँग जोड्ने अपेक्षा गरिएको छ। फ्लाई दुबई र इमिरेट्स एयरलाइन्सबीचको रणनीतिक कोडसेयर साझेदारीका कारण यात्रुले एउटै टिकटमार्फत विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यसम्म यात्रा गर्न सक्ने व्यवस्था रहेको जनाइएको छ।
फ्लाई दुबईको उडान हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण र ७ः१५ बजे दुबईका लागि प्रस्थान गर्ने तालिका छ।
सन् २०२३ जनवरीदेखि सञ्चालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यसअघि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। फ्लाई दुबईको उडानसँगै पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्ने प्रयासले गति लिएको छ।
अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षित गर्न सरकारले विमानस्थलमा पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्कमा पूर्ण छुट तथा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। यस्तो सुविधा विसं २०८५ भदौ मसान्तसम्म लागू हुने जनाइएको छ।


