काठमाडौं—भारतीय अभिनेता तथा हास्य कलाकार मुश्ताक खानको ५६ वर्षको उमेरमा निधन भएको छ। क्यान्सरबाट पीडित उनको बिहीबार साँझ ७ बजे निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

‘वेलकम’ फिल्मको ‘कन्ट्रोल उदय, कन्ट्रोल! मेरी एक टांग नकली है, मैं हॉकी का बहुत बड़ा खिलाड़ी था…’ भन्ने चर्चित संवादका कारण उनी दर्शकमाझ लोकप्रिय थिए।

मुश्ताक केही समयदेखि फोक्सोको क्यान्सरसँग संघर्ष गरिरहेका थिए। पछिल्लो १५ दिनदेखि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ। उनका व्यावसायिक साझेदार शिवमले उनको निधनको खबर पुष्टि गरेका हुन्।

मुश्ताकले हास्य तथा सहायक भूमिकामा थुप्रै हिन्दी फिल्ममा अभिनय गरेका थिए। ‘गदर २’, ‘बधाई दो’ र ‘स्त्री २’ लगायत पछिल्ला फिल्ममा पनि उनी देखिएका थिए।

उनले ‘कालिया’, ‘कब्जा’, ‘मैं आजाद हूं’, ‘आखिरी गुलाम’, ‘आशिकी’, ‘बाप नम्बरी बेटा दस नम्बरी’, ‘दिल है कि मानता नहीं’, ‘सड़क’, ‘प्यार प्यार’, ‘आदमी’ र ‘गुनाह’ लगायतका फिल्ममा अभिनय गरेका छन्। फिल्मसँगै उनी विभिन्न टेलिभिजन कार्यक्रमहरूमा पनि देखिएका थिए।

मुश्ताक सन् २०२४ मा अपहरणमा परेको घटनाका कारण पनि चर्चामा आएका थिए। उनलाई दिल्ली–मेरठ राजमार्गबाट अपहरण गरी १ करोड रुपैयाँ फिरौती मागिएको बताइएको थियो। एउटा कार्यक्रममा प्रस्तुति दिन बोलाउने बहानामा उनलाई अपहरण गरिएको र पछि उनी अपहरणकारीको कब्जाबाट उम्कन सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका थिए।