मुम्बई—हिन्दी चलचित्रका दिग्गज अभिनेता देव आनन्दका छोरा तथा अभिनेता एवं निर्देशक सुनील आनन्दको ७० वर्षको उमेरमा निधन भएको छ। उनले त्यही अस्पतालमा आफ्नो अन्तिम सास फेरेका हुन्, जहाँ उनका पिता देव आनन्दको पनि निधन भएको थियो। उनको निधनको खबर सार्वजनिक भएसँगै सिङ्गो बलिउड स्तब्ध बनेको छ।

सुनीलको निधनको पुष्टि गर्दै उनकी भतिजी जीना नारङले परिवारको तर्फबाट एक आधिकारिक विज्ञप्ति जारी गरेकी छिन्। परिवारले गहिरो शोक व्यक्त गर्दै प्राप्त माया, प्रार्थना र सहयोगप्रति आभार प्रकट गरेको छ र यस चुनौतीपूर्ण समयमा गोपनीयताको सम्मान गरिदिन सबैलाई अनुरोध गरेको छ। यद्यपि, उनको मृत्युको कारण र अन्त्येष्टिको व्यवस्थाबारे परिवारले अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन।

उनको फिल्मी यात्राको कुरा गर्दा, सुनील आनन्दले सन् १९८४ मा आफ्ना पिता देव आनन्दद्वारा निर्देशित चलचित्र ‘आनन्द और आनन्द’ मार्फत बलिउडमा आफ्नो अभिनय यात्रा सुरु गरेका थिए। त्यसपछि उनले ‘कार थिफ’ र ‘मैँ तेरे लिये’ जस्ता चलचित्रहरूमा पनि अभिनय गरेका थिए। तर, बाबु देव आनन्द झैँ फिल्ममा सफलता हासिल गर्न नसकेपछि उनी क्यामेराको पछाडि रहेर काम गर्न थाले।

पछिल्लो समय उनले आफ्नो परिवारको प्रतिष्ठित प्रोडक्सन हाउस ‘नवकेतन फिल्म्स’ को जिम्मेवारी सम्हाल्दै आफ्ना पिताको चलचित्र यात्रा र उक्त ब्यानरलाई जीवित राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। चलचित्र क्षेत्रमा उनको काम सीमित भए तापनि उनी बाबुको विरासतसँग गहिरो रूपमा जोडिएका थिए र हिन्दी सिनेमालाई आफ्नो तर्फबाट महत्त्वपूर्ण योगदान दिएका थिए।

अहिले उनको निधनको खबरले चलचित्र उद्योग र देव आनन्दका प्रशंसकहरूमाझ शोकको लहर ल्याएको छ। प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत उनलाई श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरिरहेका छन्।