पाल्पा — पाल्पाका दुई फरक स्थानमा गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
जिल्लाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोले पुरिएर दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईका अनुसार माथागढी–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको हो। दुवै जनाको शव पहिरोबाट निकालेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ।
यसैगरी, माथागढी गाउँपालिका–३ कसेनी भैँसीकट्टामा पहिरोले लिलबहादुर घर्तीमगरको घर पुरिँदा तीन जना बेपत्ता भएका छन्। घर्तीमगरका परिवारका दुई सदस्य र छिमेकीकी एक छोरी बेपत्ता भएका हुन्।
बेपत्ताहरूको खोजी कार्य जारी रहेको डीएसपी भट्टराईले जानकारी दिए।


