पर्वत — अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २० भन्दा बढी घर बगाएको छ।
वडाध्यक्ष हरि विकास जिसीका अनुसार बाढीले अहिलेसम्म २० देखि २५ वटा घर बगाइसकेको छ भने नदीको बहाव अझै बढ्दो क्रममा छ। उनका अनुसार बाढीका कारण सयभन्दा बढी घरसमेत प्रभावित हुन सक्ने अवस्था रहेको छ।
कालीगण्डकीको बाढी बस्तीमा पस्न थालेपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष जिसीले जानकारी दिए। स्थानीयवासीलाई समयमै सुरक्षित स्थानमा सारिएकाले हालसम्म मानवीय क्षति नभएको उनले बताए।
बाढीले घरसँगै स्थानीय विद्यालय, कृषि फर्म, गोठलगायतका भौतिक संरचना तथा धनमालमा समेत क्षति पुर्याएको छ।
कालीगण्डकीमा पानीको बहाव अझै बढिरहेकाले थप क्षतिको जोखिम रहेको जनाइएको छ।


