काठमाडौं — प्रधानमन्त्री बालेन शाह स्वदेश फर्किएको केही समयमै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज साँझ कतार प्रस्थान गरेका छन्।
अर्थमन्त्री वाग्ले एसियाली पूर्वाधार विकास बैंक (AIIB) को सञ्चालक समितिको ११ औँ वार्षिक बैठकमा सहभागी हुन साँझ ७ बजे कतार एयरवेजमार्फत दोहा प्रस्थान गरेका हुन्।
बैठकका क्रममा उनले AIIB को 'बोर्ड अफ गभर्नर्स' सत्रमा सहभागी हुँदै नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण र आर्थिक वृद्धिका प्राथमिकताहरूमा बहुपक्षीय सहयोग तथा लगानी परिचालनका विषयमा धारणा राख्ने अर्थ मन्त्रालयले जनाएको छ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले AIIB का अध्यक्षका साथै भारत, बंगलादेश, कतार र मालदिभ्सका अर्थमन्त्रीहरूसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नेछन्। ती भेटमा लगानी, आर्थिक सहकार्य र विकास साझेदारीका विविध विषयमा छलफल हुनेछ।
अर्थमन्त्रीको प्रतिनिधिमण्डलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख एवं सहसचिव अमृत लम्साल पनि सहभागी छन्। वार्षिक बैठक र निर्धारित द्विपक्षीय कार्यक्रम सम्पन्न गरी अर्थमन्त्री नेतृत्वको टोली आगामी बुधबार स्वदेश फर्किने कार्यतालिका छ।


