धरान —धरानमा शिक्षक विज्ञापनको माग गर्दै हिजोदेखि आमरण अनशन बसेका एक विद्यार्थीले फिनेल पिएका छन्। धरान उपमहानगरपालिकाका कार्यवाहक मेयरको कार्यकक्षभित्रै फिनेल पिएपछि उनलाई तत्काल अस्पताल लगिएको छ।

आन्दोलनकारी विद्यार्थी रोजन शंकरले कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाको कार्यकक्षमा फिनेल पिएका हुन्। उनलाई अन्य आन्दोलनकारी विद्यार्थीले तत्काल घोपा अस्पताल पुर्‍याएका छन्।

शिक्षक नियुक्तिको माग गर्दै धरानका दुई सामुदायिक विद्यालयका विद्यार्थीले कार्यवाहक नगर प्रमुख बेघाको कार्यकक्षमा हिजोदेखि धर्ना दिँदै आएका थिए।

धरान–११ स्थित ज्ञानोदय माध्यमिक विद्यालय र धरान–६ स्थित सरस्वती माध्यमिक विद्यालयका कक्षा १० का विद्यार्थीले बिहीबार नगर प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका हुन्।

शिक्षकको पदपूर्तिका लागि पटक–पटक ध्यानाकर्षण गराउँदा पनि नगरपालिकाले बेवास्ता गरेको विद्यार्थीको आरोप छ। समस्या समाधानका लागि वार्तामा नबोलाएसम्म तालाबन्दी जारी राख्ने उनीहरूले बताएका छन्। तालाबन्दीअघि विद्यार्थीले नगरपालिकाको मुख्य गेटअगाडि घेराउसमेत गरेका थिए।

दुवै विद्यालयमा लामो समयदेखि शिक्षक पद रिक्त रहेकाले पठनपाठन प्रभावित भएको विद्यालय पक्षको भनाइ छ। विशेषगरी एसईईको तयारीमा रहेका कक्षा १० का विद्यार्थी प्रभावित भएका छन्।

सरस्वती माविमा सामाजिक शिक्षक र लेखापाल रिक्त

धरान–६ स्थित सरस्वती माविमा सामाजिक विषयको शिक्षक पद करिब आठ महिनादेखि रिक्त छ। तत्कालीन प्रधानाध्यापक गंगाप्रसाद धमला गत माघ २० गते अनिवार्य अवकाशमा गएपछि उक्त पद खाली भएको प्रधानाध्यापक होमनाथ दाहालले बताएका छन्।

विद्यालयले रिक्त पदमा विज्ञापन खोल्न नगरपालिकासँग अनुमति मागे पनि अनुमति नपाएको जनाएको छ। शिक्षक अभावमा अन्य शिक्षकले नियमित कक्षासँगै सामाजिक विषय पढाउनुपरेको दाहालले बताएका छन्।

विद्यालयमा लेखापालको पदसमेत रिक्त छ। लेखापाल चित्रबहादुर कार्की अवकाश भएपछि जेठ १ गतेदेखि पद खाली रहेको विद्यालयले जनाएको छ।

व्यवस्थापन समितिले विज्ञापन गरी आवेदन संकलन गरे पनि परीक्षा र नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन।

धरान–११ स्थित ज्ञानोदय माविमा पनि रिक्त शिक्षक पदपूर्ति हुन सकेको छैन। शिक्षक अभावका कारण विद्यार्थीको पढाइ प्रभावित भएको भन्दै विद्यालयले पदपूर्तिका लागि पहल गर्दै आएको छ।

शिक्षक नियुक्ति गर्न नगरपालिकाले जानाजानी रोकेको आरोप कार्यवाहक नगर प्रमुख बेघाले अस्वीकार गर्दै आएका छन्। भदौ ९ गते वडा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकबीचको विवादका कारण समस्या समाधान हुन नसकेको बताएका थिए।

समिति र प्रधानाध्यापकबीच समन्वय हुन नसक्दा बैठकसमेत सहज रूपमा बस्न नसकेको उनको भनाइ छ। आफूले दुवै पक्षलाई बोलाएर पटक–पटक छलफल गराएको उनले बताएका छन्।

नगरपालिकाले रिक्त पदमा नियमअनुसार सार्वजनिक सूचना जारी गरी योग्य व्यक्ति छनोट गर्नुपर्ने बताउँदै आएको छ। विद्यालयभित्रको आन्तरिक विवाद समाधान गरेर शिक्षक नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने बेघाको भनाइ छ।

विद्यालय पक्षले भने शिक्षक अभावका कारण पठनपाठन प्रभावित भएकाले तत्काल पदपूर्ति गर्नुपर्ने माग गर्दै आएको छ।