काठमाडौं — पूर्व प्रधानन्यायाधीश **चोलेन्द्रशमशेर राणा**लाई शुक्रबार बिहान करिब ३ बजे प्रहरीले उनकै महाराजगञ्जस्थित निवासबाट पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले राणालाई नियन्त्रणमा लिएर टेकुस्थित कार्यालयमा राखेको छ। तर उनलाई किन पक्राउ गरिएको हो भन्ने कारण प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन।

राणा २०७५ पुसमा प्रधानन्यायाधीश नियुक्त भएका थिए। २०७८ फागुन १ गते उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएपछि निलम्बनमा परेका थिए।

पछि २०७९ मंसिरमा संसद्को कार्यकाल समाप्त भएसँगै महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र संसद्का महासचिवले सर्वोच्च अदालतलाई पठाएका थिए। उक्त पत्रविरुद्ध परेको रिटसमेत सर्वोच्च अदालतले तीन साताअघि खारेज गरिसकेको थियो।