ललितपुर — लगातारको अविरल वर्षाका कारण पहिरो खस्दा काठमाडौं–हेटौंडा जोड्ने कान्ति लोकपथ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँचधुरे र टाँकुरेमा गएराति भीषण पहिरो खसेपछि यातायात आवागमन ठप्प भएको हो। ललितपुर प्रहरी प्रवक्ता गौतम मिश्रका अनुसार निरन्तरको वर्षाका कारण दुवै स्थानमा ठूलो पहिरो खसेको छ।

यसैगरी, आज बिहान टिकाभैरव खण्डमा रुख ढलेर केही समय सडक अवरुद्ध हुन पुगेको थियो। कान्ति लोकपथअन्तर्गत मकवानपुर खण्डमा भने हालसम्म कुनै अवरोध नरहेको र यातायात सुचारु रहेको मकवानपुर प्रहरीले जनाएको छ।

सडकमा खसेको पहिरो पन्छाएर यातायात पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। वर्षा जारी रहेकाले सो सडक भएर यात्रा गर्ने यात्रुहरूलाई सतर्कता अपनाउन अनुरोध गरिएको छ।