काठमाडौं— पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले केही घण्टापछि परिवारको जिम्मा लगाएको छ।
गएराति काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट राणालाई नियन्त्रणमा लिएर कार्यालय लगेको थियो। पक्राउ पुर्जिबिनै मध्यरातमा घरबाट लगिएको भन्दै घटनाले चर्चा पाएको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार राणालाई अहिले परिवारको जिम्मा लगाइएको हो।
प्रहरीले भने राणामाथि गम्भीर सुरक्षा जोखिम (सुरक्षा थ्रेट) सम्बन्धी सूचना प्राप्त भएकाले उनलाई रातारात कार्यालयमा ल्याएर सुरक्षित राखिएको दाबी गरेको छ। प्रहरीका अनुसार यो प्रक्रिया सुरक्षा व्यवस्थापनका लागि गरिएको हो।
यद्यपि, राणालाई नियन्त्रणमा लिनुको वास्तविक कारणबारे प्रहरीले थप विवरण सार्वजनिक गरेको छैन। घटना सार्वजनिक भएपछि पक्राउको कारण र प्रक्रियाबारे विभिन्न प्रश्न उठिरहेका छन्।


