काठमाडौं— भारतको नयाँ दिल्लीमा २६ वर्षीय एक पुरुष सन्तान नहुँदा उपचारका लागि अस्पताल पुगेपछि चिकित्सकहरूले उनको शरीरभित्र पाठेघर र फलोपियन ट्युब रहेको पत्ता लगाएका छन्।

चिकित्सकका अनुसार बाहिरबाट उनको शरीर पूर्ण रूपमा सामान्य पुरुषको जस्तै थियो। पुरुषमा देखिने सबै शारीरिक विशेषता र विकास सामान्य रहे पनि शरीरभित्र पाठेघर र फलोपियन ट्युबजस्ता अङ्ग रहेको परीक्षणबाट खुलेको हो।

दिल्लीस्थित एक निजी अस्पतालका युरोलोजिस्ट डा. सुशील खरबन्दाका अनुसार बाँझोपनको कारण खोज्ने क्रममा गरिएको परीक्षणले यो दुर्लभ अवस्था पत्ता लागेको हो।

विशेषज्ञहरूका अनुसार यो पर्सिस्टेन्ट म्युलरियन डक्ट सिन्ड्रोम (PMDS) नामक अत्यन्त दुर्लभ जन्मजात अवस्था हो। यस अवस्थामा व्यक्तिको क्रोमोसोम ४६,XY हुन्छ र शरीर पुरुषका रूपमा विकसित हुन्छ, तर भ्रूण विकासका क्रममा हट्नुपर्ने पाठेघर र फलोपियन ट्युबजस्ता अङ्ग शरीरभित्रै रहन्छन्।

चिकित्सकीय साहित्यअनुसार विश्वभर यस अवस्थाका ३०० भन्दा कम घटना अभिलेख गरिएका छन्। धेरैजसो अवस्थामा यो समस्या बाँझोपन, अण्डकोष नझर्नु वा अन्य परीक्षणका क्रममा संयोगवश पत्ता लाग्ने गर्छ।

यसअघि पनि विभिन्न चिकित्सकीय जर्नलहरूमा यस्तै दुर्लभ घटनाहरू प्रकाशित भएका छन्, जहाँ सामान्य पुरुषको शरीरभित्र पाठेघरजस्तो संरचना भेटिएको उल्लेख गरिएको छ।