वार्श—सामाजिक सञ्जालको यस युगमा मानिसहरूले प्र्याङकको नाममा अनेकन चिज गरिरहेका छन् । पिज्जाको नाममा गरिएको एउटा अनौठो मजाकका कारण पोल्यान्डका २३ वर्षीय युवकले आठ वर्षसम्म जेल सजाय भोग्नुपर्ने अवस्था आएको छ ।
पोल्यान्डको सेन्ट्रल ब्युरो फर कम्ब्याटिङ साइबरक्राइमले सेजेसिनका ती युवकलाई समातेका छन् । देशभरका ठेगानाहरूमा मनलाग्दी सयौँ पिज्जा अर्डर गरिदिएपछि उनी पक्राउ परेका हुन् । उनीमाथि अरूको पिछा गरेको, पहिचानको दुरुपयोग गरेको अनि देशभरका विभिन्न कम्पनीलाई ठुलो आर्थिक क्षति पुर्याएको आरोप लागेको छ ।
प्रहरीका अनुसार ती युवकले विभिन्न व्यक्तिको नाममा उनीहरूलाई जानकारी नै नदिई देशका अलग–अलग ठेगानामा सयौँ पिज्जा अर्डर गरेका थिए । अधिकांश अर्डर सेजेसिनमै गरिएका थिए भने व्रोक्लाव, क्राकोभ र वार्साजस्ता ठूला सहरका ठेगानामा पनि यस्ता गतिविधि भएका थिए । अनुसन्धानका क्रममा ती अर्डरहरूमा लक्षित व्यक्तिका बारेमा निकै व्यक्तिगत जानकारीसमेत समावेश गरिएको पाइएको प्रहरीले जनाएको छ । तीमध्ये केही जानकारी सम्बन्धित व्यक्ति, उनका नजिकका साथी वा परिवारका सदस्यलाई मात्र थाहा हुन सक्ने खालका थिए ।
गम्भीर कुरा त के थियो भने केही अर्डरमा नाबालिगलाई अपहरण गर्ने, कार्यस्थलमा आगो लगाउने वा जानाजानी सडक दुर्घटना गराउनेजस्ता धम्कीसमेत दिइएको अनुसन्धानबाट खुलेको बताइएको छ । यसका कारण अर्डरका नाममा उल्लेख गरिएका केही व्यक्ति आफूलाई वास्तविक खतरा रहेको महसुस गर्दै मानसिक रूपमा त्रसित भएको प्रहरीले जनाएको छ ।
युवकले एकपटकमा ३०० वटा पिज्जा अर्डर गरेको समेत अनुसन्धानबाट खुलेको छ । उक्त अर्डरको कुल मूल्य ३७ हजार पोलिस ज्लोटीभन्दा बढी (झन्डै १० हजार अमेरिकी डलर) रहेको बताइएको छ । यति ठुलो संख्यामा पिज्जा तयार गर्न समय लाग्ने भएपछि केही रेस्टुरेन्टले अर्डर नै रद्द गरेका थिए । तर केही रेस्टुरेन्टले भने अर्डर पूरा गरेर ठुलो आर्थिक क्षति व्यहोर्नुपरेको प्रहरीले जनाएको छ ।
प्रहरीले युवकको घरमा छापा मारेर ती अर्डरमा प्रयोग भएको हुन सक्ने विभिन्न इलेक्ट्रोनिक उपकरण र डाटा स्टोरेज सामग्री जफत गरेको छ । सेजेसिनको सेन्ट्रल ब्युरो फर कम्ब्याटिङ साइबरक्राइम र म्युनिसिपल प्रहरी मुख्यालयको अनुसन्धान विभागले संयुक्त रूपमा घटनाको अनुसन्धान गरिरहेको छ । पक्राउ परेका युवकले यस्तो गतिविधि किन गरे भन्ने विषय भने अझै स्पष्ट हुन सकेको छैन । अनुसन्धानकर्ताहरूले उनको उद्देश्य पत्ता लगाउने प्रयास गरिरहेका छन् । यदि अदालतबाट दोषी ठहर भएमा ती २३ वर्षीय युवकले अधिकतम आठ वर्षसम्म जेल सजाय भोग्नुपर्ने हुन सक्ने बताइएको छ ।


