काठमाडौं — उदयपुरका बिभिन्न पार्टीका नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति कृष्ण थापा, नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका खड्ग कार्की साथै भक्त बहादुर राउत (भरत),शिशु चौहान, निर्माण चौहान, मोहन मगर र जङ्गबहादुर मगर लगायत छन ।

आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आयोजित कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन । 

उनीहरुलाई स्वागत गर्दै महासचिव पोखरेलले देशमा धेरै पार्टी भन्दा पनि बलिया राजनीतिक पार्टी आवश्यक रहेको बताएका छन ।उनले धेरै पार्टी हुँदा कुनै पनि एउटा दललाई बहुमत प्राप्त नहुने र देश अस्थिरता तर्फ जाने बताए।

देश अगाडि बढाउन, जनतामा पैदा भएको निराशा चिर्न र देशमा नै अवसर सिर्जना गर्न धेरै पार्टी होइन बलिया पार्टी चाहिएको बताए। एमालेलाई बलियो राजनीतिक दलको रूपमा स्थापित गर्न सबै राष्ट्रवादी र प्रगतिशील शक्तिलाई एमालेमा समावेश गर्नुपर्नेमा उनले जोड दिए ।

साना राजनीतिक दलका कार्यकर्ताहरूलाई पार्टीमा समाहित गरी २०८४ को निर्वाचनमा एमालेलाई एक्लै बहुमत प्राप्त गर्ने अवस्थामा पुर्‍याउने गरी लाग्नु पर्ने उनको भनाइ छ। महासचिव पोखरेलले ६-६ महिनामा मन्त्री फेरिने अवस्थाले देश नबन्ने बताए। त्यसैले देशमा अब राजनीतिक ध्रुवीकरण आवश्यक रहेको उनको धारणा छ।

राजनीतिक स्थायित्वका लागि २०८४ को निर्वाचनमा ठुला राजनीतिक दलबिच प्रतिस्पर्धाको वातावरण बनाउनु पर्ने उनले बताए । यो भयो भने साना दलले बार्गेनिङ गर्ने र अस्थिरता मच्चाउने प्रवृत्ति अन्त्य हुने पोखरेलको भनाइ छ।